विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै मन्त्रालयमा आउने फाइलहरू सात दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले ढिलासुस्ती हटाउन, जनगुनासोको शतप्रतिशत सुनुवाइ गर्न र सेवा छरितो बनाउन निर्देशन दिए ।
मुख्यमन्त्रीले बेरुजु फर्छ्यौटमा कडाइ अपनाउन, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन तथा नीतिगत र असुल गर्नुपर्ने बेरुजु छुट्याएर पुस मसान्तभित्र टुंग्याउन आग्रह गरे ।
उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्ग पर्यटन विकास र लगानी सम्मेलन जस्ता योजनालाई प्राथमिकता दिन तथा अधुरा योजनाको विवरण संकलन गरी पुनः सञ्चालन गर्नसमेत निर्देशन दिए ।
संघीय सरकारसँग समन्वय गरेर जनमुखी सेवा प्रवाहमा लाग्न पनि उनले आग्रह गरे ।
प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फर्छ्यौट, ओएन्डएम सर्वेक्षण र राजस्व कानुनलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । कार्यक्रममा मन्त्री, सचिव र महाशाखा प्रमुखहरूको उपस्थिति थियो ।