site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदीसँग सीले भने– चीन र भारत प्रतिद्वन्द्वी होइनन्, सहयोगी साझेदार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र भारत प्रतिद्वन्द्वी नभई सहयोगी साझेदार भएको बताएका छन् । आइतबार (भदौ १५) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका क्रममा सीले यस्तो बताएका चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले जनाएको छ ।

“आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीन र भारत प्रतिद्वन्द्वी होइनन्, सहयोगी साझेदार हुन् र दुई देश एकार्काका निम्ति खतरा नभई विकासका अवसर हुन् भनी बताएका छन्,” पिपुल्स डेलीले लेखेको छ ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा सहभागी हुन मोदी चीनको तियानजिन पुगेका छन् । तियानजिनमा मोदी र सीबीच भेटवार्ता भएको हो ।

भेटमा सीले ड्रयागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण भएको बताएका बीबीसी हिन्दीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीले भने, “विश्व परिवर्तनतर्फ अघि बढिरहेको छ । चीन र भारत विश्वका दुई सबैभन्दा प्राचीन सभ्यता हुन् । हामी दुवै विश्वका सबैभन्दा बढी जनसंख्या भएका देश हौँ र ग्लोबल साउथको हिस्सा हौँ ।”

सीले अगाडि भने, “दुवै देशबीच मित्रता रहनु, असल छिमेकी हुनु र ड्रयागन र हात्ती एकसाथ हुनु धेरै महत्त्वपूर्ण छ ।”

मोदीले भेटमा भारत र चीनबीचको सम्बन्धले सकारात्मक दिशा पाएको बताएका थिए । “हाम्रा सम्बन्धले सकारात्मक दिशा प्राप्त गरेका छन् । सीमामा शान्ति र स्थिरताको वातावरण सिर्जना भएको छ । कैलाश मानसरोवर यात्रा फेरि सुरु भएको छ,” मोदीले भने ।

मोदीले अगाडि भने, “दुई देशबीच प्रत्यक्ष उडानहरू पनि पुनः सुरु हुँदै छन् । २.८ अर्ब जनताको हित हाम्रा देशहरूबीचको सहयोगसँग जोडिएको छ । हामी हाम्रा सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध छौँ ।”

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्