site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजा सिटीमा फेरि आक्रमण तीव्र पार्दै इजरायल, उत्तरी गाजामा सहायता रोक्ने चेतावनी

काठमाडौं । इजरायलले गाजा सिटीमा आक्रमण तीव्र पार्ने घोषणा गरेको छ । २३ महिना लामो युद्धपछि पनि हमासले सुरुङमार्फत गतिविधि जारी राखेको आशंका रहेकाले आक्रमण तीव्र पार्न लागिएको इजरायलको दाबी छ ।

इजरायलले उत्तरी गाजाका केही भागमा मानवीय सहायता प्रवाहलाई सुस्त पार्ने वा पूर्णरूपमा रोक्ने चेतावनी दिएको छ ।

इजरायलले दक्षिणी क्षेत्रबाट लाखौँ बासिन्दालाई हटाउने तयारी गरिरहेकाले गाजाको उत्तरी भागमा सहायता ट्रकको आवतजावत कम गर्ने एक अधिकारीले बताएका छन् ।

इजरायलले शुक्रबार गाजा सिटीलाई युद्ध क्षेत्र घोषणा गर्दै यसलाई हमासको गढ बताएको थियो । लगभग २३ महिना लामो युद्धका बाबजुद यहाँ सुरुङहरूको सञ्जाल अझै पनि प्रयोगमा रहेको इजरायलको आरोप छ ।

हालैका दिनहरूमा इजरायली सेनाले सहरको बाहिरी इलाकामा आक्रमण तीव्र पारेको छ । शुक्रबार राति गाजामा कैयौँ ठूला विस्फोट भएका थिए ।

गाजामा मृत्यु हुनेको संख्या ६३ हजार नाघेको छ ।

अवदा अस्पतालका स्वास्थ्य अधिकारीहरूका अनुसार, शनिबार मध्य गाजामा सहायता सामग्री लिने प्रयास गर्दा इजरायली सेनाको गोली लागेर चार जनाको मृत्यु भएको छ ।

यद्यपि, सहायतामा अवरोध कहिलेदेखि सुरु हुन्छ र हवाई सहायता कहिले पूर्णरूपमा बन्द हुन्छ भन्ने निश्चित छैन । शनिबारसम्म गाजामा कैयौँ दिनदेखि कुनै हवाई सहायता पुगेको छैन ।

प्यालेस्टिनीलाई दक्षिण जान निर्देशन
शुक्रबार इजरायली सेनाका प्रवक्ताले प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ जान आग्रह गरेका छन् । अर्कोतर्फ, सहायता समूहहरूले गाजा सहरबाट ठूलो संख्यामा मानिसहरूलाई विस्थापित गर्दा गम्भीर मानवीय संकट थप बढ्ने चेतावनी दिएका छन् ।

खाद्य संकटसम्बन्धी एक विज्ञले गाजा सहर अनिकालको अवस्थामा रहेको र गाजा क्षेत्रमा पाँच लाख मानिसहरूले भयावहस्तरको भोकमरीको सामना गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिकी अध्यक्ष मिरजाना स्पोलजारिकले भनिन्, “यस्तो निष्कासनले ठूलो जनसंख्या पलायन सुरु गर्नेछ । जसलाई गाजाको कुनै पनि क्षेत्रले धान्न सक्दैन । किनकि नागरिक पूर्वाधारको व्यापक विनाश भइसकेको र भोजन, पानी, आश्रय तथा चिकित्सा हेरचाहको चरम अभाव छ । गाजा सहरबाट ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित र सम्मानजनक तरिकाले निकाल्न असम्भव छ ।”

गाजा सिटी छोड्दै स्थानीय
सयौँ बासिन्दाले गाजा सिटी छाड्न थालेका छन् । उनीहरू आफ्नो बाँकी रहेको सामान पिकअप ट्रक वा खच्चड–गाडामा लोड गरिरहेका छन् । धेरै मानिस एक पटकभन्दा बढी आफ्नो घर छोड्न बाध्य भएका छन् ।

संयुक्त राष्ट्रले बिहीबार जनाएअनुसार, गत हप्ता २३ हजार मानिसहरूलाई बाहिर निकालिएको थियो । तर, गाजा सहरका धेरै मानिसले आफूहरूसँग जानका लागि कुनै सुरक्षित ठाउँ नभएको बताएका छन् ।

दक्षिणतर्फ विस्थापित भएकाहरू खाना र पानी उपलब्ध नहुने हो कि भन्ने चिन्तामा छन् । पानी उपलब्ध हुँदा पनि त्यो पिउनयोग्य नभएको उनीहरूको गुनासो छ । उनीहरूले भने, “जब विस्थापितहरूको संख्या बढ्छ, समस्या झनै गम्भीर हुन्छ ।”

याकिमा हेराल्डबाट ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्