site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजेन्द्र महतोले गर्ने भनेको कस्तो खालको विद्रोह हो ?

काठमाडौं । पटक–पटक मन्त्री भएका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो फरक खालको विद्रोह सुरु गर्ने बताउँदै छन् । उनी झन्डै ३५ वर्षदेखि सक्रिय राजनीतिमा छन्, फरक–फरक दलमा रहेर राजनीति गरे ।
६७ वर्षीय महतो भन्छन्, “अब हाम्रो अभियान भनेको फरक खालको विद्रोह हो । तपाईं अहिले नै बुझ्न सक्नुहुन्न, हामी कस्तो खालको आन्दोलन गर्दैछौं भनेर ।”

‘कस्तो खालको ?’ बाह्रखरीको जिज्ञासामा उनले थपे, “हामी तपाईंले आशंका गरेजस्तो होइन, शान्तिपूर्ण तरीकाले नै आन्दोलन गर्छौं । तर सरकार हाम्रो आन्दोलनबाट माग–मुद्दा सम्बोधन गर्न बाध्य हुने गरी आन्दोलनमा उत्रिन्छौं । आन्दोलन सुरु भएपछि मात्र तपाईंले हाम्रो आन्दोलनका बारेमा थाहा पाउनुहुनेछ ।”

महतो बहुदलीय व्यवस्थासँगै २०४७ सालमा नेपाल सद्भावना पार्टीका केन्द्रीयबाट राजनीतिमा उदाएका हुन् । २०५६ सालमै प्रतिनिधिसभा सदस्य बनेका थिए । त्यसपछि २०६४, २०६५, २०७४ मा सांसद भए । अनि उद्योग, वाणिज्य, आपूर्तिमन्त्री भए, २०६६ सालमै । त्यसपछि पटक–पटक मन्त्री भए । 

दुई दलीय सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका महतो यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा थिए । लोसपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रिय मुक्ति पार्टी नेपाल अभियान सञ्चालन गरेका थिए । उनले निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता गराएका छन् ।

महतोले भने, “सबै पहिचान पक्षधर, संघ–संस्था, संगठन, जातीय संगठनसँग हामी सहकार्य गरेर अघि बढ्छौं । जस–जसले पहिचान र अधिकारको विषय बुझेका छन्, उनीहरूले हामीलाई सहयोग गर्नेछन् । हामी सँगसँगै अघि बढ्नेछौं ।”

‘पटक–पटक मन्त्री हुनुभयो, सत्ता कत्तिको महत्वपूर्ण रहन्छ ?’ भन्ने जिज्ञासामा उनले भने, “प्रत्येक राजनीतिक दलको उद्देश्य नै सत्तामा जाने हो । सरकारमा सामेल भएर राजनीति गर्नकै लागि दलहरू उदाएका छन् । तर, हामी मधेशका व्यक्तिले हाँकेको दललाई ठूला भनाउँदा एमाले, कांग्रेस र माओवादीले हेपे । हामीलाई सधैं सरकार र सत्ताको वरिपरि मात्र घुमिराख्ने दलका रूपमा हेरे ।”

नेता महतोले प्रतिप्रश्न गरे, “मधेशी दलहरूले सत्ता चलाएको तपाईंले देख्नुभएको छ ? एकताका मधेशी नेताहरूको बोलवाला हुँदा ठूला भनाउँदा दलहरू डरले थरथर काँप्थे । सत्ता लालसाले सबै मधेशी नेताहरू छिन्नभिन्न भए । ठूला दलहरूले उनीहरूलाई माथि उक्लिने सिँढीका रूपमा मात्र प्रयोग गरिरहेका छन् ।”

‘तपाईसँग चाहिँ सत्ता लालसा छैन त ?’ उनले भने, “मैले ३५ वर्षको राजनीतिक यात्राबाट धेरै कुरा सिकेको छु । सत्तामा गइहाल्ने मेरो चाहना होइन । मेरो पार्टीको उद्देश्यअनुसार नै अब म अगाडि बढ्ने हो । पिछडिएका, अधिकारबाट वञ्चित भएका, पहिचान बनाउन नसकेका जाति–वर्गलाई समेट्ने र आवाज बुलन्द पार्ने मेरो बाटो हो । म कुनै सत्ताको लोभमा पर्ने छैन ।”

राजनीतिक दलहरूको शीर्ष तहमा रहेर काम गरेका महतो नेपाली राजनीतिका एक प्रमुख मधेशवादी नेताका रूपमा चिनिन्छन् । नेपाल सद्भावना पार्टीबाट उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।

पछि उक्त पार्टी विभाजन भएपछि उनले आफ्नै नेतृत्वमा सद्भावना पार्टी (राजेन्द्र महतो समूह) बनाए । मधेसी आन्दोलनका क्रममा उनले अन्य मधेशी नेताहरूसँग मिलेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नेतृत्वदायी भूमिका खेले ।

मधेशववादी दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालमा पनि उनले प्रमुख नेताको भूमिका निर्वाह गरेका थिए । त्यसपछि झन्डै ५ वर्षअघि राजपा नेपाल र संघीय समाजवादी फोरम विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पनि उनी नेता बने ।

लोसपामा सक्रिय नेता आफँै छुट्टिँदै राष्ट्रिय मुक्ति पार्टी बनाएका छन् । केही दिनअघि सम्पन्न राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सामाजिक–आर्थिक–सांस्कृतिक पुनस्र्थापनाको लहर चलेको ठहर गर्दै उत्पीडित समुदायलाई एकताबद्ध गरी बहुल–राष्ट्रिय राज्य निर्माणको एजेन्डा अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टीले २०८२ मा राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने, सहकारी अर्थतन्त्रलाई बढावा दिने र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्ने योजना पनि बनाएको छ ।

राष्ट्रिय मुक्ति पार्टीले भदौ ८ देखि असोज २२ गतेसम्म स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशन सिद्धान्तअनुसार संगठन विस्तार अभियान सञ्चालन गर्दै छ ।
 

 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्