काठमाडौं । रुसले शुक्रबार राति दक्षिण र मध्य युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । जवाफी आक्रमणमा युक्रेनले रुसका धेरै तेल रिफाइनरीलाई निसाना बनाएको स्थानीय अधिकारीले जनाएका बीबीसीले उल्लेख गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ५०० भन्दा बढी ड्रोन र ४५ मिसाइल प्रहार गरेको र त्यसबाट देशका १४ क्षेत्र प्रभावित भएको बताएका छन् ।
रुसी आक्रमणमा युक्रेनको जापोरिझ्यामा एक महिलाको मृत्यु भएको छ । तीन बालबालिकासहित २८ जना घाइते भएका छन् ।
रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हमलाका सबै लक्ष्य पूरा र तोकिएका ठाउँमा आक्रमण गरिएको जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरमा शान्ति बहाली गर्ने प्रयास तीव्र हुँदै गर्दा यी हमला गरिएको हो । केही दिनअघि मात्र रुसले युक्रेनमाथि तीन वर्षयताकै दोस्रो ठूलो हवाई हमला गरेको थियो । उक्त आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।
युक्रेनको राजधानी किभनजिकको रेलवे संरचनामा क्षति पुगेको जनाइएको छ । तर, पछिल्ला हमलाको सबैभन्दा बढी असर देशको मध्य र दक्षिण–पूर्वी भागमा परेको छ ।
यसैबीच, युक्रेनी सेनाले रातारात रुसका दुई क्षेत्रस्थित तेल रिफाइनरीलाई निसाना बनाइएको जनाएको छ । ती दुवै रिफाइनरीलाई यसअघि पनि निसाना बनाइएको थियो ।
रुसी अधिकारीले आफ्ना रिफाइनरीमा ड्रोन हमला भएको स्वीकार गरेका छन् । उनीहरूले एउटा प्रोसेस युनिटमा क्षति पुगेको र उक्त क्षेत्रमा आगो लागेको बताएका छन् । तर, कुनै मानवीय क्षति नभएको उनीहरूले जनाएका छन् ।
रुसको रक्षा मन्त्रालयले रातभरमा युक्रेनका २० ड्रोन खसालिएको जनाएको छ । तीमध्ये १८ वटा क्राइमियामाथि थिए । क्राइमियालाई रुसले सन् २०१४ मा युक्रेनबाट आफूसँग गाभेको थियो ।