site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले गर्‍यो गाजा सिटी ‘युद्ध क्षेत्र’ घोषित, २२ महिनामा मृतकको संख्या ६३ हजार नाघ्यो

काठमाडौं । इजरायलले गाजाको सबैभन्दा ठूलो सहर गाजा सिटीलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको छ । यो कदमलाई अन्तर्राष्ट्रियस्तरमा निन्दित एक ठूलो सैन्य कारबाहीको सुरुआत मानिएको छ । शुक्रबार सोही क्षेत्रबाट दुई बन्धकको शव पनि बरामद गरिएको छ ।

पछिल्लो २२ महिनादेखि जारी यो संघर्षमा मृत्यु हुनेको संख्या ६३ हजार नाघेको छ । एक लाख ५९ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

इजरायली सेनाले लडाइँ पुनः सुरु गर्ने घोषणा गरेसँगै स्वास्थ्य अधिकारीहरूले गाजामा मृत्यु हुनेको संख्या बढेर ६३ हजार २५ पुगेको बताएका छन् । पछिल्लो २४ घण्टामा मात्र अस्पतालहरूले ५९ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

यसैबीच, मानवीय सहायता समूह र मानिसलाई आश्रय दिइरहेको एक चर्चले आफूहरूले गाजा सिटी नछोड्ने र भोका तथा घरबारविहीनको मद्दत जारी राख्ने जनाएको छ ।

सहरको बाहिरी इलाकामा आक्रमण तीव्र
यो कदम यस्तो समयमा चालिएको हो, जब इजरायलले केही हप्ताअघिदेखि नै सहरमा आफ्नो कारबाही तीव्र पार्ने योजना बनाएको थियो । उक्त सहरमा लाखौँ मानिसले शरण लिएका र भोकमरीको सामना गरिरहेका छन् ।

हालैका दिनमा इजरायली सेनाले सहरको बाहिरी इलाकामा आक्रमण तीव्र पारेको छ । शुक्रबार बिहान दक्षिणी इजरायलमा सीमापारिबाट धुवाँको मुस्लो र शक्तिशाली विस्फोटको आवाज स्पष्ट सुनिएको एपीले जनाएको छ ।

गाजा सिटी हमासको गढ भएको इजरायलको दाबी
इजरायलले गाजा सिटी हमासको गढ भएको र त्यहाँ सुरुङहरूको सञ्जाल अझै सक्रिय रहेको जिकिर गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सन् २०२३ अक्टोबर ७ को जस्तो आक्रमण फेरि हुन नदिन सहरमा हमासको शक्ति समाप्त पार्नु आवश्यक रहेको बताएका छन् ।

सैन्य कारबाहीको आलोचना
संयुक्त राष्ट्रसंघका एजेन्सी र सहायता समूहले यो सैन्य कारबाहीको आलोचना गरेका छन् । गाजा सिटीका बासिन्दाले भने यसले आफ्नो अवस्थामा कुनै फरक नपारेको बताएका छन् ।

मध्य गाजापट्टीको नुसेरात शरणार्थी शिविरनजिकै पाल टाँगेर बसेका एक सर्वसाधारण मोहम्मद मारुफले आफ्नो नौ सदस्यीय परिवारको दयनीय अवस्थाबारे भने, “हामी सडकमा फ्याँकिएका छौँ । के भनौँ ? हामी कुकुरजस्ता पनि छैनौँ । कुकुरको अवस्था हामीभन्दा राम्रो छ ।”

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्