site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेयर बालेनले प्रधानमन्त्री ओलीलाई भने– लिपुलेकको विषय चीनसँग उठाउन नबिर्सनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको विषय उठान गर्न आग्रह गरेका छन् । 

चीन भ्रमणको शुभकामना दिँदै बालेनले प्रधानमन्त्री ओलीलाई लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमति नेपालको सार्वभौमिकतामाथिको  आक्रमण  भन्दै यो विषय उठान गर्न भनेका छन् । 

“नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ,” बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।” 

प्रधानमन्त्रे ओली आज चीन भ्रमणमा गएका छन् । उनी तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । 

भदौ ३ गते भारत र चीनबीच भारत नियन्त्रित नेपाली भूमि लिपुलेकबाट व्यापार पुनः सुचारु गर्ने सहमति गरेपछि नेपालमा त्यसको आलोचना भइरहेको छ । 

प्रधामन्त्री ओलीलाई चीन भ्रमणका बेला लिपुलेक मुद्दा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसमक्ष उठाउन सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले अनुरोध गरेका थिए ।

शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा प्रधानमन्त्रीले चीनमा हुने उच्चस्तरीय भेटवार्तामा लिपुलेकको विषय उठाउने बताएका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्