काठमाडौं । उत्तर अफ्रिकी देश मौरिटानियाको तटनजिकै डुंगा पल्टिँदा ६९ प्रवासीको मृत्यु भएको छ ।
घटनामा धेरै बेपत्ता भएको बीबीसीले जनाएको छ । घटनामा १७ जनालाई उद्धार गरिएको छ । बाँकी यात्रुहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।
गाम्बियाबाट उक्त काठको डुंगा स्पेनको क्यानरी टापुतर्फ जाँदै थियो । डुंगामा करिब १६० जना सवार थिए, जसमध्ये अधिकांश गाम्बिया र सेनेगलका नागरिक थिए ।
उद्धार गरिएका व्यक्तिहरूका अनुसार, डुंगा दुर्घटनाभन्दा ६ दिनअघि गाम्बियाबाट प्रस्थान गरेको थियो ।
तटरक्षक स्रोतहरूले स्पेनी समाचार एजेन्सी ईएफईलाई बताएअनुसार, मौरिटानियाको राजधानी नोउआकचोटबाट करिब ६० किलोमिटर उत्तरमा रहेको तट वरपर खोजी कार्य जारी छ ।
मंगलबार राति अबेर प्रवासीहरूले तटीय सहरको बत्ती देखेपछि डुंगाको एकातिर सर्दा असन्तुलन भएर डुंगा पल्टियोएको एक वरिष्ठ तटरक्षक अधिकारीले एएफपी समाचार एजेन्सीलाई बताएका छन् ।
एटलान्टिक महासागरको खतरनाक मार्ग हुँदै युरोप पुग्ने प्रयासमा रहेका अफ्रिकी प्रवासीहरूका बीच यो यात्रा पछिल्लो समय सामान्य बन्दै गएको बताइएको छ ।
गत वर्ष करिब ४७ हजार मानिस क्यानरी टापु पुगेका थिए ।
स्पेनको गैरसरकारी संस्था कामिनान्दो फ्रोन्तेरासका अनुसार यो अवधिमा नौ हजारभन्दा बढी प्रवासीले युरोप पुग्ने क्रममा ज्यान गुमाएका छन् । बीबीसी