site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पका व्यापार सल्लाहकारको भारतीय प्रधानमन्त्री मोदीविरुद्ध ‘जातिवादी’ टिप्पणी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि आफ्नो आक्रमणलाई तीव्र बनाएका छन् । उनले सामाजिक सञ्जाल एक्समा जातीय रंगमिश्रित सामग्रीसहितको एउटा थ्रेड पोस्ट गरेका छन् ।

त्यसको अन्त्यमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भगवा पोसाकको तस्बिरसहित ‘युक्रेनमा शान्तिको बाटो नयाँदिल्ली हुँदै जान्छ’ भन्ने दाबी गरेका छन् ।

नभारोले यसअघि यसै साता रूस–युक्रेन द्वन्द्वलाई ‘मोदीको युद्ध’ भन्दै आरोप लगाएका थिए । उनले भारतलाई क्रेमलिनका लागि ‘तेलको पैसा धुने मेसिन’को रूपमा चित्रण गरेका थिए ।

उनले राजनीतिक रूपमा सम्बद्ध भारतीय रिफाइनरहरूले रूसको सस्तो कच्चा तेल किनेर प्रशोधन गर्छन् र विश्वभर इन्धन निर्यात गर्छन् भन्ने दाबी पनि गर्दै यसबाट रूसले आफ्नो आक्रमणलाई निरन्तरता दिनका लागि आर्थिक स्रोत वा मुद्रा प्राप्त गर्ने बताएका थिए ।

“भारतको ठूलो तेल लबी (पैरवी) ले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रलाई विशाल रिफाइनिङ हबमा परिणत गरेको छ,” उनले लेखेका छन् । उनले यी निर्यातबाट प्राप्त रकम ‘राजनीतिक रूपमा सम्बद्ध ऊर्जा टाइटनहरू’ तर्फ प्रवाहित हुने पनि बताए ।

नभारोले आफ्नो आलोचनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतीय आयातमा लगाएको ५० प्रतिशत करसँग जोडेका छन् । उनले त्यसलाई व्यापार र राष्ट्रिय सुरक्षाको जवाफको रूपमा व्याख्या गरेका छन् ।

उनले अमेरिकी उपभोक्ताहरूले ५० अर्ब डलरको व्यापार घाटामार्फत भारतको तेल खरिदलाई वित्तपोषण गर्ने गरेको दाबी गरेका छन् । अमेरिकी वस्तुहरूमा भारतले लगाएको करका कारण अमेरिकी निर्यातलाई भारतमा निरुत्साहित गरिएको छ ।

नभारोको आक्रमण विषयवस्तुका हिसाबले मात्र नभएर  प्रतीकात्मक हिसाबले पनि सबैको ध्यानाकर्षण गर्न सफल भएको बताएको छ ।

मोदीको भगवा पहिरनको तस्बिर प्रयोग गरेर आफ्नो तर्कलाई जोड दिने नभारोको पोस्टलाई आलोचकहरूले प्राच्यवादी र जातीय रंगको रूपमा हेरेका छन् । तर, उल्लेखनीय के छ भने रूसको कच्चा तेलबाट भारतले प्रशोधन गरेको धेरै इन्धन युरोपमा जान्छ । युरोपेलीहरु अमेरिकाका प्रमुख सहयोगीहरू हुन् । 

भारतप्रतिको यो निरुन्तरको आक्रमणले वासिङ्टनले दिल्लीलाई नयाँ निसाना बनाइरहँदा रूसको सबैभन्दा ठूलो ऊर्जा साझेदार बेइजिङप्रति भने किन नरम भइरहेको छ भन्ने प्रश्न उठाएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्