काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी नोभेम्बर १७–१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उनले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गरिन् ।
नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरू समेत उपस्थित सो बैठकमा मन्त्री डा. राणाले भनिन् “सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, सहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरूको प्रशस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई लगानीका लागि आह्वान गर्दछु ।”
मन्त्री डा. राणाले आजभन्दा तीन दशकअघिको सुदूरपश्चिमको अवस्थाको अहिले कसैले पनि कल्पना गर्न नसक्ने प्रसंग उल्लेख गरिन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छोटो समयमा यस क्षेत्रमा पुल तथा सडक निर्माण भएसँगै यो क्षेत्र पनि काठमाडौंलगायत नेपालसँग जोडिन पुगेको बताइन् ।
उनले वर्तमान सरकार दिगो र स्थायी प्रकृतिको रहेकाले विकासका सम्भावनाहरूलाई पहिलेको तुलतामा थप उजागर गरिरहेको जानकारी दिइन् । नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले आवश्यक पर्ने कानुनहरूमा पनि संशोधन गरेको स्पष्ट पारिन् ।