site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रश्न– विद्या भण्डारी केन्द्रीय सदस्य नै हारे के हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाउन नसकिने दोहोर्‍याएका छन् । काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको छलफलका क्रममा बुधबार (भदौ ११) उनले भण्डारीले अध्यक्षको चुनाव लडे हार्ने जिकिर गरे ।

“उहाँको सम्मानका लागि हामी सबैले, उहाँलाई फर्किएर आएर उमेदवार बन्ने/बनाउने गल्ती नगरौँ । उहाँ आएर महाधिवेशनमा ल जित्नुभयो भने त बहुत राम्रो, तर जित्ने स्थिति छ, हुन्छ जित्ने स्थिति ? अनि, उहाँ आएर चुनाव हार्ने र भीम रावलको तरिकाले चुनाव हार्ने, असन्तुष्ट हुने अनि खाँबो चिथोर्ने बस्ने अलिक समय । पार्टीले स्पष्टीकरण सोध्नुपर्ने हुन्छ,” उनले भने ।

राष्ट्रपति भइसकेको व्यक्तिलाई स्पष्टीकरण सोध्ने अवस्था बने राम्रो सन्देश नजाने उनको भनाइ थियो । “राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुर्‍याउने ? अहिले उहाँको सदस्यता छैन, हामी स्पष्टीकरण सोध्दैनौँ । बरु, यही ठिक छ नि ! उहाँलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने विन्दुमा पार्टी पुग्यो भने कति नराम्रो सुनिन्छ, कति नराम्रो देखिन्छ,” ओलीले भने । 

उनले भण्डारीले केन्द्रीय कमिटीमा नै चुनाव हारे के हुन्छ भनेर प्रश्न गरेका थिए । “हारेर कुनै पनि पोजिसनमा नहुँदा, केन्द्रीय कमिटीमा हार्नुभयो भने के हुन्छ ? उहाँ केन्द्रीय कमिटीको सदस्य भएर बस्नुभयो भने के हुन्छ ? उहाँलाई अध्यक्ष दिन सकिँदैन । निश्चित कुरा के हो भने, उहाँ चुनाव लड्नुभयो भने हार्नुहुन्छ । नराम्ररी हार्नुहुन्छ,” ओलीले भने, “उहाँ हार्नुपर्छ पार्टीको, आन्दोलनको हितको लागि । लालगेडी भएर त चल्दैन नि ! यो त संघर्षको मैदान हो नि । सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर चल्छ, आन्दोलन ?”

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्