site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोडसेडिङ अन्त्य राजनीतिक आँटले मात्रै सम्भव भएको हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित 'नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्य : रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना' विषयक राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा प्रचण्डले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।

उनले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको दाबी गरे । ऊर्जा र कृषिसँगै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र सूर्यको खेतीबाट अर्को पूर्व–पश्चिम राजमार्ग निर्माणजस्ता योजना त्यही भिजनका हिस्सा भएको उनको भनाइ छ ।

“यो सबै नयाँ नेपालको सपना थियो, त्यो दिनदेखि नै सुरु गरिएको हो,” उनले भने ।

प्रचण्डले दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य भएको स्मरण गरे । “हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ । कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको थियो,” उनले भने ।

उनले देशमा ऊर्जा विकासको सम्भावना भए पनि अवरोध पुर्‍याउने मुख्य कारण पुराना झन्झटिला कानुन रहेको बताए ।

परम्परावादी नियम र नोकरशाहीको सोच पुरानो शैलीमै सीमित रहेकाले ऊर्जा विकास क्षेत्रको विकास अपेक्षाकृत हुन नसकेको उनको भनाइ छ । “पुरानो सेटिङ भत्काएर नयाँ, गतिशील र जनपक्षीय सेटिङ बनाउनैपर्छ,” उनले भने ।

ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।

“जनार्दन शर्मालाई ऊर्जामन्त्री बनाउने र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचा भत्काएर नयाँ जनपक्षीय सेटिङ बनाउने राजनीतिक आँट थियो,” उनले स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले स्वर्गीय पोस्टबहादुर बोगटीलाई ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने, महत्त्वपूर्ण परियोजना अघि बढाउने र छिमेकीहरूसँग सहकार्य विस्तार गर्ने नेताका रूपमा स्मरण गरे । उनले भने, “बोगटीजस्तो इमानदार र निष्ठावान् नेताको योगदानलाई राष्ट्रले सम्झनैपर्छ ।”

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्