site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले चारपटक फोन गर्दा पनि मोदीले उठाएनन् !

काठमाडौं । भारत र अमेरिकाबीच ट्यारिफको विषयमा तनाव बढिरहेको छ । रुसबाट तेल खरिद गरेकामा रिसाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कुल ५० प्रतिशत ट्यारिफ पुर्‍याएका छन् । जुन, अगस्ट २७ देखि लागु भएको छ ।

दुई देशको तनावबीच जर्मन अखबार फ्रांकफुर्टर अल्गेमाइन जितुङ (एफएजेड)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चारपटक फोन गरेको तर मोदीले जवाफ नदिएको दाबी गरेको छ ।

जर्मन अखबारले के दाबी गरेको छ ?
एफएजेडले हालैका हप्तामा ट्रम्पले चारपटक फोन गरे पनि मोदीले जवाफ दिन अस्वीकार गरे दाबी गरेको छ । यद्यपि, रिपोर्टमा यी फोन कल कहिले गरिएका थिए भन्ने उल्लेख गरिएको छैन ।

ट्रम्पले भारतीय सामानमा २५ प्रतिशत निर्यात कर लगाएर र भारतलाई मृत अर्थतन्त्र भनेका कारण मोदी रिसाएको जर्मन अखबारले उल्लेख गरेको छ । रिपोर्टमा भनिएको छ, “मोदीले अझै पनि कुराकानी गर्न अस्वीकार गर्नुले उनको रिसको गहिराइलाई देखाउँछ । तर, उनको सावधानीलाई पनि झल्काउँछ ।”

ट्रम्पले भियतनामका फर्स्ट सेक्रेटरी टू लामसँग फोनमा कुराकानी गर्दा अमेरिका र भियतनामबीचको व्यापार सम्झौतामा दुई देशका प्रतिनिधिमण्डलले कडा मिहिनेतले व्यवस्थित गरेको भए पनि  पुनः छलफल गरेका थिए । तर, कुनै सम्झौतामा पुग्नुअघि नै ट्रम्पले सामाजिक सञ्जालमा व्यापार सम्झौता भइसकेको घोषणा गरेको विषय पनि एफएजेडअखबारले उल्लेख गरेको छ । ट्रम्पको जालमा मोदीले फस्न नचाहेकाले मोदीले फोन नउठाएको हुन सक्ने अखबारमा उल्लेख छ ।

अखबारले मोदीले भारतीय बजारलाई अमेरिकी कृषि व्यवसायका लागि खोल्ने ट्रम्पको दबाबको विरोध गरिरहेको लेखेको छ । यसबाहेक, रुसी तेल खरिदलाई निरन्तरता दिने भारतको निर्णय र त्यसको बदलामा ट्रम्पले लगाएको २५ प्रतिशत अतिरिक्त ट्यारिफले सम्बन्धलाई थप तनावपूर्ण बनाएको उल्लेख छ ।

एनडीटीभीबाट ।
 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्