काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पका लागि ओभल अफिसको इजेलमा राखिएको युक्रेनको विशाल नक्साले एक स्पष्ट सन्देश दिएको थियो ।
रुसले पूर्वी क्षेत्र डोनबासमा ठूलो भाग कब्जा गरेको छ । रातो रंगमा छायांकित त्यो क्षेत्र अहिले युक्रेनको नियन्त्रणबाट बाहिर गएको छ ।
युक्रेनले शान्तिका लागि सम्झौता गर्नुपर्छ, नत्र थप क्षेत्र गुमाउने खतरा छ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका लागि, अघिल्लो सोमबार दुई राष्ट्रपति र युरोपेली नेताहरूसँगको बैठकमा देखाइएको नक्साले धेरै जटिल तस्बिर प्रस्तुत गरेको थियो ।
ह्वाइट हाउसको त्यो छलफल कुनै व्यापारिक सम्झौता वा जुवाको खाल थिएन, यो व्यक्तिगत थियो । क्यामेराबाट टाढा उनले ट्रम्पलाई आफ्नो हजुरबुबाले दोस्रो विश्वयुद्धमा डोनबासका शहरहरूलाई नाजीहरूबाट मुक्त गर्न लडेको बताएका थिए । सोही कारण उनी त्यसलाई सजिलै छोड्न सक्दैनन् ।
बुधबार किभ फर्किएपछि केही घण्टामै जेलेन्स्कीले यो कुरा दोहोर्याए । “डोनबास मुक्त गर्न लड्ने यस्ता धेरै परिवार थिए,” जेलेन्स्कीले पत्रकारहरूलाई भने, “धेरै सहिद भए र धेरै घाइते भए । मैले यो हाम्रो इतिहासको विशेष पीडादायी क्षण र युक्रेनको जीवनको विशेष पीडादायी हिस्सा हो भनेर सम्झिएँ ।”
ट्रम्पको नेतृत्वमा भइरहेको हालैको कूटनीतिक प्रयासले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्धलाई कता लैजान्छ भन्ने स्पष्ट छैन । तर खनिजयुक्त डोनबास क्षेत्र जसमा मुख्यरूपमा डोनेत्स्क र लुहानस्क दुई क्षेत्र पर्छन्, हरेक वार्ताको केन्द्रमा रहने निश्चित छ ।
पश्चिम भर्जिनियाको आकारजस्तो डोनबासको धेरै भागमा युद्ध लडिएको छ । दुवै पक्षका हजारौँ सैनिकले सानो उपलब्धिका लागि ज्यान गुमाएका छन् । रुसले अब युक्रेनको नियन्त्रणमा रहेको डोनबासको अन्तिम २५ सय वर्ग माइल कब्जा गर्ने प्रयास गरिरहेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले सबै डोनबास छोड्नुपर्ने माग गरेका छन् । उनको मागमा किभले नियन्त्रण गरेको भाग पनि समावेश छ, जहाँ क्रामाटोर्स्क र स्लोभियान्स्क जस्ता शहरहरूमा दुई लाखभन्दा बढी युक्रेनीहरू बस्छन्, जसलाई बचाउन जेलेन्स्कीका हजुरबुबा लडेका थिए ।
वर्षौंदेखि पुटिनले डोनबासलाई युक्रेनी सरकारलाई हेरफेर गर्न प्रयोग गर्दै आएका छन् । आक्रमण गर्नुअघि उनले क्षेत्रको व्यापार घाटा प्रयोग गरेर युक्रेनको नेटोजस्ता पश्चिमी संस्थामा प्रवेशको आशालाई रोक्ने प्रयास गरे । अब, यस युद्धको चौथो वर्षमा, उनले डोनबास कब्जामात्र गर्न चाहँदैनन्, जेलेन्स्कीलाई राजनीतिकरूपमा कमजोर पार्न पनि चाहेको विश्लेषकहरू बताउँछन् ।
धेरैजसो युक्रेनीहरूले अझै पनि रुसलाई आफ्नो भूमि छोड्न विरोध गर्ने सर्वेक्षणहरूले देखाउँछन् र युक्रेनी संविधानले त्यसलाई छोड्न निषेध गर्छ ।
जेलेन्स्कीले या त युक्रेनी जनताबीच अलोकप्रिय कुरालाई समर्थन गर्ने वा ट्रम्पको क्रोधको सामना गर्ने विकल्पको सामना गरिरहेका छन् ।
“यो वास्तममा विषको गोली हो,” पूर्वविदेशमन्त्री वादिम प्रिस्टाइकोले भने, “युक्रेनले यसलाई निल्नुपर्नेछ र त्यसपछि युक्रेनले यसलाई कसरी पचाउँछ हेर्नेछौँ ।”
जेलेन्स्कीले पत्रकारहरूबाट क्षेत्र छोड्ने विषयमा प्रश्नहरूबाट बच्दै आएका छन्, उनले यो विषय पुटिनसँग मात्र छलफल गर्न सक्ने बताएका छन्, जसले उनलाई भेट्न सहमत भएका छैनन् ।
पूर्वयुक्रेनी अधिकारी र राजनीतिक विश्लेषकहरूले जेलेन्स्कीले युक्रेनीहरूलाई क्षेत्र छोड्न मनाउन सक्ने एकमात्र आधार अमेरिकी समर्थित सुरक्षा ग्यारेन्टी दिनु हो भनेका छन् । ट्रम्पले नेटो सदस्यता अस्वीकार गरेपछि युक्रेनले यो प्राप्त गर्न सकेको छैन ।
तर, ग्यारेन्टी बलियो हुनुपर्छ, उदाहरणका लागि युरोपेली सैनिकको परिचालन र अमेरिकी हवाई सैन्य सहयोगको मिश्रित स्वरूपमा, जसले रुसलाई भविष्यका आक्रमणहरूबाट रोक्न सक्छ ।
युक्रेनका लागि युरोपेली संघका पूर्वराजनीतिक सल्लाहकार बालाज जाराबिकले युक्रेन भूभाग छोड्ने बिन्दुमा पुगिसकेको र शान्ति सम्झौताका लागि जसले युक्रेनलाई पश्चिमी सुरक्षा ग्यारेन्टी दिने बताएका छन् ।
उनले थपे, “यदि बदलास्वरूप डोनबासबाट मुक्त हुनुपर्छ भने, मलाई लाग्छ उसले यो गर्नेछ ।”
ट्रम्पले समाधानको उपाय भूमि साटासाट भएको बताएका छन् । रुसले युक्रेनको लगभग २० प्रतिशत नियन्त्रण गरेको छ र सम्भवतः उत्तरपूर्वी युक्रेनका साना टुक्राहरूमा केही क्षेत्र फर्काउन सक्ने बताएका छन् ।
“यी भूमि साटासाट युक्रेनका लागि फाइदाजनक हुनेछैन,” किभको ट्रान्सअटलान्टिक डायलग सेन्टरका अध्यक्ष माक्सिम स्क्रिप्चेन्कोले भने, “यो किनकि उनीहरू डोनबास गुमाउन सक्छन् र त्यसपछि युक्रेनसँग थप वार्ताका लागि कुनै कार्ड हुनेछैन ।”
युक्रेनीहरूले भने यसलाई फरकरूपमा हेर्ने उनले बताए । रुसको क्षेत्रमा प्रगति विगत तीन वर्षमा ढिलो भएको छ । डोनबासको बाँकी भाग छोड्नु भनेको सहरहरू र किल्लाहरू हस्तान्तरण गर्नु हो जसले रुसलाई भविष्यको आक्रमण सुरु गर्न मद्दत गर्न सक्छ ।
डोनबासलाई पहिले रुसी–समर्थक पिछडिएको क्षेत्रका रूपमा हेरिन्थ्यो । त्यहाँका ६.७ मिलियन बासिन्दामध्ये धेरैले मात्र रुसी भाषा बोल्थे, युक्रेनी बोल्दैनथे, र १० मध्ये ९ जनाले २०१० मा रुसी–समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई मत दिएका थिए ।
जब युरोपेली–समर्थक विरोध प्रदर्शनले यानुकोभिचलाई २०१४ को सुरुमा राजीनामा दिन बाध्य पार्यो, रुसले तुरुन्तै प्रतिक्रिया दियो । पहिले क्रिमिया कब्जा गरियो । त्यसपछि रुसी सैनिकको सहयोगमा पृथकतावादी आन्दोलनले डोनबासको एक तिहाइ कब्जा गरे, जसले वर्तमान युद्धको पूर्वसंकेत गरेको सानो स्तरको द्वन्द्व सिर्जना गरेको थियो ।
युक्रेन सरकारले सन् २०१५ को फेब्रुअरीमा बेलारुसमा वार्ता गरिएको शान्ति सम्झौतापछि डोनबासका केही क्षेत्रहरूलाई स्वशासन दिने विचार गर्यो । यद्यपि, विशेष गरी नेटो प्रवेशको विषयमा पुटिनले स्वायत्त डोनबासलाई किभमाथि भिटो अधिकार दिन चाहन्थे ।
“यसको उद्देश्य युक्रेनलाई पूर्ण सार्वभौमसत्ता अभ्यास गर्न नसक्ने देश बनाउनु थियो, विशेष गरी विदेश नीतिमा,” रासमुसेन ग्लोबलका वरिष्ठ निर्देशक ह्यारी नेडेल्कुले भने ।
वार्ताहरू लम्बिरहँदा, राजनीतिक नवप्रवेशी जेलेन्स्कीले सन् २०१९ मा रुससँग शान्ति ल्याउने प्रतिबद्धतामा युक्रेनी राष्ट्रपतिको चुनाव लडे । जेलेन्स्कीले जिते । त्यतिबेला, उनी सम्झौताको विचारमा खुला थिए र डोनबास क्षेत्रलाई “विशेष स्थिति” दिन तयार थिए ।
उनले २०१९ को डिसेम्बरमा पेरिसमा पुटिनसँग शान्ति शिखर सम्मेलनमा युद्ध अन्त्य गर्ने सम्झौता गर्न सकिन्छ भन्ने सोचेका थिए । तर, घरेलुरूपमा उनले डोनबासमाथि युक्रेनी नियन्त्रण छोड्ने कुनै सम्झौता नगर्न दबाबको सामना गरे ।
“रुसीहरूसँग मिलेर जान सकिन्छ जस्तो लाग्थ्यो,” त्यतिबेलाका राष्ट्रपति सल्लाहकार इहोर नोभिकोभले भने ।
“पेरिसको त्यो बैठकपछि, मलाई लाग्छ जेलेन्स्की नै पहिलो व्यक्ति थिए जसले रुससँग सम्झौता गर्न सकिँदैन भन्ने महसुस गरे,” उनले भने, “उनले पेरिसमा यू–टर्न लिए, र यसले पुटिनलाई क्रोधित बनायो ।”
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गर्यो, डोनबासका सहरहरू नष्ट गर्दै लाखौँलाई घरबारविहीन बनायो । आक्रमणबाट स्तब्ध भएपछि जेलेन्स्कीले डोनबासलाई स्वायत्तता दिने विचारमा पुनर्विचार गरेको जस्तो देखियो ।
“यी क्षेत्रहरूले कसरी जीवन बिताउने भनेर छलफल गर्न र सम्झौता खोज्न सकिन्छ,” आक्रमणको एक हप्तापछि उनले एबीसी न्युजलाई भनेका थिए ।
तर, युक्रेनी सैनिकले रुसी फौजलाई पछि धकेलेपछि र युक्रेनी नागरिकहरूको सामूहिक हत्याको खुलासा भएपछि, उनको दृष्टिकोण फेरि बदलियो । उनले आक्रमणअघि रुसले कब्जा गरेको भागसहित युक्रेनलाई डोनबास फिर्ता ल्याउने कुरामा जोड दिए ।
युरोपको राजनीतिक विश्लेषण फर्म आर. पोलिटिकका विश्लेषक जाराबिकले युक्रेनले त्यसपछि बाखमुट सहर कायम राख्ने रक्तरञ्जित लडाइँमा स्थिति परिवर्तन गरेको बताए । यसले लामो लडाइँपछि ढिलो–ढिलो पछि हट्न थाल्यो जसले रुसलाई धेरै सैनिक गुमाउन बाध्य पारेको थियो ।
युक्रेन “भूभागको साटो रुसी जीवनसँग व्यापार गरिरहेको थियो,” जाराबिकले भने । रुसले युद्धक्षेत्रमा धक्का दिँदा जेलेन्स्कीले गएको हिउँदमा पहिलोपटक नेटो प्रवेशको सुरक्षा ग्यारेन्टीको बदला अस्थायीरूपमा कब्जा क्षेत्र रुसलाई छोड्ने विचार गरे ।
ट्रम्पले यो विचार त्यागे । तर, जेलेन्स्कीका लागि विजयको रूपमा, ट्रम्पले गत हप्ता अमेरिकाले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीमा भाग लिने बताए । अमेरिकी विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले विवरणहरू तयार पार्ने प्रयास गरिरहेका छन् ।
रुसले यस्ता ग्यारेन्टी स्वीकार गर्छ कि गर्दैन भन्ने मुख्य प्रश्न हो । युक्रेनले नेटोको संरक्षण चाहन्छ, तर रुसले दशकअघि डोनबास युद्ध सुरु गर्नुको कारण किभको नेटो प्रवेशलाई रोक्नु थियो ।
रुसले अब गम्भीर सुरक्षा ग्यारेन्टी किन अनुमति दिन्छ त भन्ने गम्भीर प्रश्न उठेको छ । “मूलरूपमा, हामी फेरि सुरुको बिन्दुमा फर्कियौँ,” रासमुसेन ग्लोबलका विश्लेषक नेडेल्कुले भने, “पुटिनमा परिवर्तन नभएमा शान्ति वार्तामा केही पनि हुनेछैन । म अझ धेरै लडाइँ हुने देख्छु ।”