कोपनहेगन । लोक–रक सांगीतिक ब्यान्ड नेपथ्यले डेनमार्कमा पनि दर्शकको माया पाएको छ । कार्यक्रम हुनु केही समय अगावै टिकट सोल्ड आउट भइसकेको थियो ।
डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार अटेसमटेस दर्शकदीर्घामा नेपाली राजदूत पनि उपस्थित थिए । शान्त कोपनहेगन सहर मात्र नभई वरपरका युरोपेली मुलुक फिनल्यान्ड, जर्मनी, नर्वे, स्वीडेन र बेल्जियमदेखि समेत नेपथ्यप्रेमी तन्नेरी उत्साहसाथ जम्मा भएका थिए ।
मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरि चिच्याहट सुनियो नै, उठेका हातभरि चम्किरहेका मोबाइल फोनको बत्तीले पूरै हल झिलिमिली देखिएको थियो । यस क्रमले दुई घण्टा लामो कन्सर्ट अवधिसम्मै निरन्तरता पाइरह्यो ।
डेनमार्कमा नेपथ्यले आफूलाई नौ वर्षपछि उभ्याएको हो । नेपाली राजदूत सुम्निमा तुलाधरले यो कन्सर्ट मात्र नभएर नेपाली उत्सव बनेको प्रतिक्रिया दिइन् ।
नातिसहित सपरिवार उपस्थित भएर नेपालका लागि डेनमार्कका पूर्वराजदूत गर्ट मेनकीसमेत कन्सर्टमा रमाइरहेका देखिन्थे ।
कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले स्वदेशमा स्कुल जान नपाएका केटाकेटीलाई सक्दो सहयोग गरिदिएर भए पनि देशप्रतिको दायित्व निभाइदिन दर्शकलाई अपिल गरेका थिए । यसरी सामाजिक दायित्वलाई सन्देशका रूपमा सुनाउँदासुनाउँदै पनि नेपथ्यले सर्वकालिक हिट गीतहरू नछुटाई दर्शकमाझ प्रस्तुत गरेको थियो । ‘रातो र चन्द्रसुर्जे’ सुनाएपछि ब्यान्डले बिदा मागेको थियो ।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
डेनमार्कमा हासिल गरेको यो सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अब अर्को मुलुक माल्टा पुग्नेछ ।