site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालसामु वामदेवले गरे जिम्मेवारी नपाएको गुनासो
माधव नेपाल (दायाँ) र वामदेव गौतम । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टी प्रवेशको दुई महिना हुन लाग्दा पनि जिम्मेवारी नपाएको गुनासो गरेका छन् । अध्यक्ष माधवकुमार नेपालसामु उनले आफूलाई जिम्मेवारी दिन आग्रह गरे ।

एकीकृत समाजवादी स्थापनाको चार वर्ष पुगेको अवसरमा सोमबार (भदौ ९) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले जिम्मेवारीका बारेमा सोध्न सधैँ कार्यालय आउने गरेको सुनाए ।

“दुई महिना कट्न लागेको छ । अहिले मेरो जिम्मेवारी विभागहरूको संयोजक किसिमको छ । हरेक दिन पार्टी अफिसमा आउँछु । कपी भए हस्ताक्षर गर्थें । तर, अध्यक्षलाई दिनहुँ आउँछ भन्ने थाहा थियो,” उनले भने ।

पार्टीमा चित्त बुझेन भनेर अन्यत्र जाने छुट आफूलाई नभएको बताए । “खुट्टा एक ठाउँमा टेकेको छैन, अर्कातिर जान खुट्टा उठाइसकेको छ भन्छन् । अहिले त्यो भन्न दिनेवाला म छैन,” उनले भने ।

उनले आफू जनताका बीचमा जान तयार भएको बताए । एकीकृत समाजवादीका नेता काठमाडौंमा बस्ने र तल्ला तहमा नजाने गरेको उनले उल्लेख गरे । उनले पार्टीमा नक्कली कम्युनिस्ट हुन सक्ने टिप्पणी पनि गरे ।

उनले तल्ला तहमा आफू नै जानुपर्ने हो कि भन्ने लागेको बताए । “म नै जानुपर्छ कि भन्ने लागेको हो । मसँग एउटा नेता त पक्कै हुनुहुन्छ,” उनले भने, “अब एकीकृत समाजवादीका नेताहरू जनताका बीचमा हुनेछन् ।”

पार्टीमा आफू निरन्तर लागिरहने उनले बताए । उनले भने, “एक दिन मरेँ भने तपाईंहरूकै काखमा मर्न पाऊँ ।”

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्