site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनमा विदेशी सेना तैनाथको विरोधमा रुस

काठमाडौं ।  रुसले पश्चिमी देशहरूले युक्रेन शान्ति वार्तामा बाधा पुर्‍याइरहेको आरोप लगाएको छ । उसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि राखेका सर्तहरूले उनी शान्ति चाहँदैनन् जस्तो देखिएको बताएको छ । 

रुस र युक्रेनबीचको युद्ध रोक्न डोनाल्ड ट्रम्प निरन्तर प्रयासरत छन् । तर, पश्चिमी देशहरू शान्ति वार्तामा बाधक बनिरहेका रुसको दाबी छ । 

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमी देशहरूले युक्रेनमा चलिरहेको युद्ध रोकियोस् भन्ने नचाहेको बताए । उनले भने, “पश्चिमी देशहरूले यस्ता गतिविधि गरिरहेका छन् जसले शान्ति वार्ता हुन नसकोस् ।”

डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच वार्ता गराउने प्रयास गरिरहेका छन् । तर दुवै देश एकअर्कामाथि आरोप लगाउँछन् र वार्ताबाट टाढा रहन्छन् ।

रुसी विदेशमन्त्री लाभरोभले एक टेलिभिजन अन्तर्वार्तामा पश्चिमी देशहरूलाई लक्षित गर्दै भने, “उनीहरूले कुनै न कुनै बहाना बनाएर वार्ता बन्द गराउँछन् ।” 

उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई लक्षित गर्दै भने, “उनी आफ्नै सर्तमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न चाहन्छन् ।”

लाभरोभले डोनाल्ड ट्रम्प र पुटिनले वार्ताका लागि बनाएको मञ्चलाई युक्रेनले नष्ट गर्न खोजिरहेको बताए । उनले थपे, “पुटिन र ट्रम्पको वार्तापछि केही आशा देखिएको थियो । हामीलाई अझै विश्वास छ कि युक्रेनले यो कुरा बुझ्नेछ ।”

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग भेट गर्नुअघि सर्त राखेका छन् । कुनै पनि भेटघाटअघि पश्चिमी देशहरू र अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्छ भन्ने उनको भनाइ छ ताकि रुसले फेरि आक्रमण नगरोस् । रुसले भने यस्ता सर्तहरूले वार्तामा बाधा पुग्ने बताएको छ । साथै, रुसले युक्रेनमा युरोपेली सेनाहरूको उपस्थिति कुनै पनि हुन नहुने बताए ।

जेलेन्स्कीमाथि आरोप
यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन र जेलेन्स्कीबीच हुन सक्ने शिखर सम्मेलनका निम्ति हालसम्म कुनै एजेन्डा तय नभएको बताए । उनले जेलेन्स्कीमाथि ‘हरेक कुरामा नाइँ’ भनिरहेको र वार्तालाई अगाडि नबढाएको आरोप लगाए ।

जेलेन्स्की पुटिनसँग वार्ता गर्न सहमत
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि दक्षिण अफ्रिकी समकक्षी सिरिल रामफोसासँग कुराकानी गरेका थिए । त्यसक्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका निम्ति तयार रहेको बताए ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा एउट पोस्टमा लेखेका छन्, “मैले दक्षिण अफ्रिकी गणतन्त्रका राष्ट्रपति सिरिल रामफोसासँग उनको अनुरोधमा कुराकानी गरेँ । मैले मेरा सहयोगीसँगको संयुक्त कूटनीतिक प्रयास र वासिङटनमा राष्ट्रपति ट्रम्पसँग भएका सार्थक बैठकबारे जानकारी दिएँ ।” 
जेलेन्स्कीले थपे, “मैले रुसका प्रमुखसँग कुनै पनि प्रकारको बैठकका निम्ति मेरो तत्परता दोहोर्‍याएँ । तर, रुसले फेरि यो मामिलालाई अगाडि बढाउने प्रयास गरिरहेको छ । त्यसैले ग्लोबल साउथले सान्दर्भिक संकेत पठाएर रुसलाई शान्तितर्फ लैजान आवश्यक छ ।” 

ट्रम्पले रुसलाई दिए प्रतिबन्धको धम्की
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसलाई फेरि धम्की दिएका छन् । ट्रम्पले यदि युक्रेनमा दुई हप्ताभित्र युद्धको शान्तिपूर्ण समाधानको दिशामा कुनै प्रगति नभए रुसमाथि प्रतिबन्ध लगाइने बताए । यो धम्की अलास्कामा पुटिनसँग उनको सौहार्दपूर्ण भेटको एक सातापछिको हो ।

युक्रेनको आक्रमणले रुसको परमाणु संयन्त्रमा आगलागी
रुसले आइतबार युक्रेनले शनिबार–आइतबारको मध्यरातमा धेरै ड्रोन आक्रमण गरेको कारण उसको पश्चिमी कुस्र्क क्षेत्रमा रहेको परमाणु ऊर्जा संयन्त्रमा आगलागी भएको दाबी गर्‍यो । यो घटना युक्रेनले आफ्नो स्वतन्त्रताको ३४ वर्ष पूरा भएको उत्सव मनाइरहेको बेला भएको हो । रुसी अधिकारीहरूले बताएअनुसार शनिबार राति भएका आक्रमणहरूमा धेरै ऊर्जा संयन्त्रहरूलाई निसाना बनाइएको थियो ।

अधिकारीहरूले सामाजिक सञ्जाल टेलिग्राममा भने, “युक्रेनको ड्रोन आक्रमणका कारण एक परमाणु ऊर्जा संयन्त्रमा आगलागी भयो, जुन तत्काल नियन्त्रणमा लिइयो ।’ उनीहरूले यो घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए । तर, आक्रमणमा एक ट्रान्सफर्मर क्षतिग्रस्त भएको र विकिरणको स्तर सामान्य सीमाभित्र रहेको बताए ।

युक्रेनको डोनेट्स्क क्षेत्रका दुई बस्ती कब्जा रुसको कब्जामा
रुसले शनिबार पछिल्लो २४ घण्टामा युक्रेनको डोनेट्स्क क्षेत्रका दुई बस्ती कब्जा गरिएको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार, दक्षिणी र पश्चिमी सैन्य समूहको कारबाहीपछि सेरेड्ने र क्लेबन बाइक गाउँ अब रुसको नियन्त्रणमा छन् । रुसी रक्षा मन्त्रालयले आफ्नो सेनाले युक्रेनको एउटा सैन्य–औद्योगिक केन्द्र र १४३ स्थानमा हमला गरेको जनाएको छ । त्यहाँ युक्रेनी सैनिक र विदेशी लडाकु अस्थायी रूपमा बसेका थिए ।

यसबाहेक रुसी हवाई रक्षाले गएको हप्ता युक्रेनको आक्रमण असफल बनाएको थियो । चार गाइडेड हवाई बम र १६० ड्रोन सफलतापूर्वक खसालिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २३:३८
प्रतिक्रिया दिनुहोस्