site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाइने

काठमाडौं । नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको दश वर्ष पुगेकाले यस वर्षको दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार भएको बैठकले आगामी असोज २, ३ र ४ गते नेपलभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी त्रिदिवसीय रूपमा दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्री र राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ । दिवसका क्रममा असोज ३ गते काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा सर्वसाधारणसमेतको उपस्थितिमा मूल समारोह हुनेछ भने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु प्रस्ताव गरिएको छ । यस्तै, दिवसको अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको सांगितिक महोत्सव (नेसनल डे कन्सर्ट) आयोजना, जनस्तरका झाँकीहरू प्रदर्शनी आदि कार्यक्रम प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्