site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री भन्छन्– संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आइतबार (भदौ ८) काठमाडौमा आयोजित एक कार्यक्रममा उनले वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरु हुने बताए ।

संविधान निर्माणका निम्ति २० वर्ष लागेको उनले स्मरण गरे । यो असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसकिने उनले जिकिर गरे । संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ थियो ।

समय र समाजको विकासको गतिअनुसार संविधान पनि परिमार्जन गर्नुपर्ने उनले बताए । समयसापेक्ष संविधान संशोधनका निम्ति वर्तमान सरकार गठनको बेला नेपाली (कांग्रेस) र नेकपा (एमाले)ले सहमति गरेको पनि उनले उल्लेख गरे । सरकार गठनको एक वर्षमा पनि संविधान संशोधनको कार्य सुरु गर्न नसकिएको उनले स्वीकार गरे ।

कार्यक्रममा गृहमन्त्री लेखकको भनाइ पढ्नोस्–
एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ । यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दै छौँ, आजको द्वन्द्वको नेचर कस्तो छ भने हामी संघीयतामा छौँ, दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागि द्वन्द्व छ । अधिकारको बाँडफाँडको लागि द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व । तर, यदि संविधान असफल भयो भने अकल्पनीय द्वन्द्वहरू यो देशमा सुरु हुन्छ, जसले अब २० वर्षमा पनि संविधान बनाउन सक्ने स्थिति हुँदैन । ती कुराहरू तपाईंहरूले यदाकदा लक्षणहरू देख्नुभएको छ होला । त्यसकारण संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन पनि म भन्न चाहन्छु । यही संविधानलाई बचाइराख्न पर्छ । तर, समयसापेक्ष यसमा परिमार्जन र यसलाई उन्नत गर्दै समय जुन गतिमा विकास, समाज जुन गतिमा विकास भइरहेको छ, संविधानलाई पनि त्यही गतिमा उन्नत र परिवर्तन परिमार्जन गर्ने प्रक्रियाका मार्फत । त्यसकारण हामीले अहिलेको सरकार, अहिलेको समीकरण निर्माण हुनुभन्दा पहिला एक नम्बरमा हामीले संविधानको सार्थक संशोधनको विषय उठाएको हो । हालकि एक वर्ष भइसक्यो हामी त्यतातिर अलि परिणाममुखी ढंगले प्रवेश गर्न पाएका छैनौँ । त्यो सत्य हो, त्यो हाम्रो कमजोरी हो । तर, संविधानको समयसापक्ष संशोधन र यो संविधानको सुरक्षा यो आवश्यक छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्