काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले भूमिसम्बन्धी विधेयकको देशव्यापी विरोध गर्ने भएको छ । यही भदौ ९ देखि १५ गतेसम्म देशका विभिन्न सहरमा विरोध प्रदर्शन गरिने पार्टीका महासचिव लालबाबु राउतले शनिबार (भदौ ७) जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमिसम्बन्धी विधेयकका कतिपय प्रावधानको विरोध गर्दै आएको छ । यहीबीचमा सरकारले ‘राष्ट्रिय हितविपरीत’को भूमि विधेयकको प्रक्रिया अगाडि बढाएकाले ‘कडा प्रतिकार र विरोधमा उत्रने निर्णय’ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त विधेयक मुलुक र जनताको हितमा नरहेको पार्टीको ठहर छ । त्यसबाट भूमाफिया, जग्गा दलालको हित हुने र वनजंगल विनाश भई तराई/मधेस मरुभूमिकरण हुने जसपा नेपालले जिकिर गरेको छ ।
वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई/मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न भन्दै विधेयकको विरोधमा उत्रने पार्टीको तयारी छ ।
भूमि विधेयकप्रति अब जसपा नेपाल लचिलो हुने आमअनुमानबीच विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।
सत्तापक्षीय नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदको हस्ताक्षर संकलन गरिएपछि हालै विपक्षी दलका नेता छलफलमा जुटेका थिए । विपक्षीको रणनीति तय गर्ने भन्दै बसेको उक्त बैठकमा जसपा नेपालका नेता अनुपस्थित थिए । विपक्षी भएर पनि बैठकमा सहभागी नभएपछि पार्टीले सरकारलाई साथ दिन लागेको रूपमा टीकाटिप्पणी गरिएको थियो ।
राष्ट्रियसभामा कांग्रेस–एमालेको बहुमत छैन । विधेयक पारित गर्न सरकारलाई विपक्षीको साथ आवश्यक पर्छ । भूमिसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित हुन नदिने जसपा नेपालका प्रवक्ता मनीष सुमनले चेतावनी दिएका छन् ।
भूमि विधेयककै प्रावधानप्रति आपत्ति जनाउँदै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।