site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाललाई सहयोग गर्न भियतनामलाई आग्रह

काठमाडौं । भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शनिबार (भदौ ७) काठमाडौंमा शिष्टाचार भेटवार्ता गरेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका निम्ति सुआन शनिबारै काठमाडौं आएकी हुन् ।

उक्त भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी गरिएको थियो । त्यसक्रममा मन्त्री राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका निम्ति भियतनामलाई बधाई दिँदै यसबाट अरू देशले पनि सिक्न सक्ने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने बताइन् । बौद्ध धर्म दुवै देश र जनताबीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकामा उनले जोड दिइन् ।

उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेका उल्लेख गरिन् । सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि उनले बताइन् ।

मन्त्री डा. राणाले भियतनामबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा उडानको वातावरण निर्माणका निम्ति पनि आग्रह गरिन् ।

उनले नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले आवश्यक सहयोगका निम्ति पनि भियतनामसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्