काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताएका छन् । शनिबार (भदौ ७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
देशमा ३४ हजार बढी सहकारी रहेको उनले उल्लेख गरे । यसलाई नियमन गर्न जरुरी रहेको उनले औँल्याए । न्याय फलानोलाई चाहियोभन्दा पनि पीडितले पाउनुपर्ने उनको भनाइ थियो ।
“...कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो । न्याय उनीहरूलाई नै चाहिएको छ,” उनले भने, “सरकारले सीता दर्जीलाई सम्झिरहेको छ कि छैन मैले सोध्नुपर्छ । यो देशमा एउटा सीता पुजिन्छन्, अर्की सीता लुटिन्छन् ।”
सहकारीबाट ठगिएका व्यक्तिले त्यसमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेकामा उनले जोड दिए । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।
महामन्त्री शर्माले निजी क्षेत्रलाई निरुत्साहित गरेर विद्यालय शिक्षा विधेयक ल्याउन नमिल्ने बताए । उनले शिक्षा विधेयक परिमार्जन गरेर मात्र संसद्बाट पारित गर्ने प्रतिबद्धता जनाए । न्युज एजेन्सी नेपाल