काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले यहाँको भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन् ।
शनिबार (भदौ ७) दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट पारे । नेपालको सहमतिबिना ती भूमि प्रयोग गर्ने प्रयत्न अस्वीकार्य रहेको उनले उल्लेख गरे । त्यसबारे नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको उनले बताए ।
तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्नेमा उनले जोड दिए । अघिल्लो र हालको अवस्थाको तुलना गर्दा वर्तमान सरकार सफल देखिएको उनको भनाइ थियो ।
महासचिव पोखरेलले हाल देशमा राजस्व बढेको बताए । खर्च गर्ने क्षमता मजबुत भएको, लगानीयोग्य वातावरण बनेको र निजी क्षेत्र उत्साहित रहेको उनले जिकिर गरे ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्कनु उचित नहुने पनि बताए । पूर्वराष्ट्रपतिजस्तो सम्मानित व्यक्तिलाई सामाजिक रूपमा सक्रिय हुन भने कुनै रोकटोक नरहेको उनले स्पष्ट पारे । हिमालयन टेली भ्वाइस