site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको जिकिर गरे ।

कांग्रेस र एमालेले सरकार बनाउँदै गर्दा संविधान संशोधन गर्नेकुरा पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै अब संख्या वा अन्य कुनै बहानामा पछि हट्न नहुने बताए । ठूला शक्तिहरूले जोखिम उठाउनसक्नुपर्ने उनको भनाइ छ । संविधान संशोधनको विषय कसरी अघि बढाउने भन्नेमा छलफल गर्न सकिने बताए ।

"संविधान संशोधनमा यो त्यो, संख्या भन्नै पाइँदैन । जोखिम छ, जोखिम उठाउनुपर्छ । मुख्य शक्तिले जोखिम उठाउनुपर्छ । कांग्रेस र एमालेको अहिलेको सरकारले बनाउने बेलामा दुईवटा पार्टीले म संविधानको संशोधनको आवश्यकता महसुस गरेका छौँ, हामी गर्छौं भनेर आइसकेपछि यो बहस अघि बढाउनैपर्छ । कसरी बहस अघि बढाउने भन्नेमा छलफल गर्न सकिएला तर बहस अघि बढाउनैपर्छ," उनले भने । 

महामन्त्री थापाले संसद् समावेशी बनाउने र पाँच वर्ष एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्नेगरी छलफल अघि बढाउन जरुरी रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्