site stats
बाह्रखरी :: Baahrakhari
विदेश
थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्राविरुद्धको राजद्रोहको मुद्दा खारेज

काठमाडौं । थाइल्यान्डको एक अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्राविरुद्धको शाही अपमान र राजद्रोहको मुद्दा खारेज गरेको बीबीसीले जनाएको छ ।

यो आरोप थाकसिनले सन् २०१५ मा निर्वासनमा रहँदा एक दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित थियो । यदि, उनी दोषी ठहरिएको भए उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो ।

उक्त अन्तर्वार्तामा उनले थाइल्यान्डको शीर्ष शाही सल्लाहकार संस्था, प्रिभी काउन्सिलमाथि सन् २०१४ को सैन्य कू मा सहयोग गरेको आरोप लगाएका थिए ।

सोही कू मा उनकी बहिनी यिङलक शिनावात्राको सरकार ढलेको थियो । थाइल्यान्डको लेस–म्याजेस्ते कानुनले राजशाहीको आलोचना वा अपमानलाई अपराध मान्छ ।

तर, आलोचकहरूको भनाइमा यो कानुन प्रायः कार्यकर्ता र राजनीतिक विरोधीहरूलाई निशाना बनाउन प्रयोग गरिन्छ ।

थाकसिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री पैतोंगतार्न शिनावात्रा पनि अदालती कारबाहीको सामना गरिरहेकै बेला यो फैसला आएको छ । यो मुद्दामा उनलाई पदबाट हटाउन सकिने बताइएको छ ।

थाकसिन शिनावात्रा परिवार, जसले दशकौँसम्म थाइल्यान्डको राजनीतिमा प्रभुत्व जमाएको छ । शुक्रबारको फैसलाले यो परिवार र उनका समर्थकलाई केही राहत प्रदान गरेको छ ।
थाकसिनका वकिल विन्यात चार्मोन्ट्रीले पत्रकारहरूलाई बताएअनुसार, अदालतमा फैसला सुनाइसकेपछि थाकसिनले आफ्ना वकिलहरूलाई धन्यवाद दिएका थिए ।

उनले अब देशको हितमा काम गर्न सक्ने बताए । थाकसिनमाथिको यो आरोप सन् २०१६ मा तत्कालीन सैन्य सरकारले उनलाई निर्वासनमा रहँदा दायर गरेको थियो ।  गत वर्ष उनको थाइल्यान्ड फिर्तीपछि उक्त मुद्दालाई प्राथमिकता दिइएको थियो । बीबीसी

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्