काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानी आणविक स्थलमा बमबारी गर्न आदेश दिएकामा प्रशंसा गरेका छन् । राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुलाई आफ्नो देशका सेनालाई इरानका आणविक स्थलमा बमबारी गर्न आदेश दिएकामा 'युद्ध नायक'को रूपमा प्रशंसा गरे ।
मंगलबार प्रसारित एक अन्तर्वार्तामा ट्रम्पले नेतान्याहुलाई राम्रो व्यक्तिको रूपमा वर्णन गरेका हुन् । उनका शब्दहरूले जुलाईमा दुई नेताहरू ह्वाइट हाउसमा भेट्दा इरानमा भएका आक्रमणहरूबारे व्यक्त गरिएको स्वबधाईको भावनालाई प्रतिध्वनित गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।
“उनी एक युद्ध नायक हुन्, किनभने हामी सँगै काम गर्छौं । उनी एक युद्ध नायक हुन्,” ट्रम्पले नेतान्याहुबारे भने, “म पनि हुँ जस्तो लाग्छ,” उनले थपे ।
इजरायलले गत जुनको मध्यमा इरानविरुद्ध हवाई आक्रमण गरेर नतान्ज र इस्फाहानमा महत्त्वपूर्ण आणविक सुविधामा क्षति पुर्याएको थियो । आक्रमणमा इरानका सैन्य कमान्डर र आणविक वैज्ञानिकको मृत्यु भएको थियो ।
त्यसपछि जुन २२ मा अमेरिकाले ठूला बमहरू प्रयोग गरेर फोर्डोमा रहेको इरानी आणविक स्थलमा आक्रमण गरेको थियो । जुन एउटा पहाडमुनि जमिनभित्र निर्माण गरिएको छ । हालैको अमेरिकी मूल्यांकनले फोर्डो आणविकस्थललाई गम्भीररूपमा क्षतिग्रस्त भएको बताएको छ । यद्यपि, उक्त साइटमा पहुँच नभएसम्म यसको हदलाई ठ्याक्कै मापन गर्न गाह्रो छ ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले नोभेम्बरमा भएको आफ्नो चुनावी जितपछि गाजामा बन्दी बनाइएका र मुक्त भएका बन्धकहरूको फिर्तीको श्रेय पनि लिए ।
हमासले जनवरीमा ट्रम्पको पदभार ग्रहण हुनुअघि सुरु भएको युद्धविरामको क्रममा करिब ३० बन्धकलाई मुक्त गरेको छ । अरू बन्धक मे महिनामा राष्ट्रपतिको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्यामा रिहा गरिएको थियो ।
“मैले सबै बन्धकहरूलाई फिर्ता ल्याएको छु,” ट्रम्पले भने ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले नोभेम्बर २०२४ मा गाजामा युद्ध अपराध र मानवताविरुद्धका अपराधहरूको आरोप लगाउँदै नेतान्याहु र योआव गल्लान्ट (इजरायलका पूर्वरक्षामन्त्री)का लागि गिरफ्तारी वारेन्ट जारी गरेको थियो । इजरायलले आरोपहरू अस्वीकार गरेको छ । अमेरिकी विदेश विभागले गत जुनमा वारेन्टहरूको जवाफमा अदालतका चार न्यायाधीशमा प्रतिबन्ध लगाएको थियो ।
जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले बारम्बार रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोबीच, भारत र पाकिस्तानबीच तथा थाइल्यान्ड र कम्बोडियाबीचका द्वन्द्वहरू समाधान गरेको श्रेय लिएका छन् ।
उनले जुनमा करिब दुई हप्तासम्म चलेको इरान र इजरायलबीचको आक्रमण र प्रतिआक्रमण अन्त्य गर्ने युद्धविराम पनि घोषणा गरे ।
लेभिनसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “मैले ६ वटा युद्धहरू अन्त्य गरेको छु । हामीले इरानलाई पनि समाप्त गरेका छौँ, र मैले उनीहरूको पूर्ण आणविक क्षमता नष्ट गरेको छु, जुन उनीहरूले मौका पाएमा इजरायलविरुद्ध दुई सेकेन्डमा प्रयोग गर्ने थिए ।”
उनले यो रेकर्डलाई डेमोक्रेटिक पूर्वराष्ट्रपतिहरूको तुलनामा अनुकूलरूपमा तुलना गरे ।
न्युयोर्क टाइम्सबाट ।