site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीमा किचलो : देउवासित भेटेपछि मुख्यमन्त्री कँडेल र शाहीबीच सवालजवाफ
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल (बायाँ) र कांग्रेस सभापति शेरबहादुर देउवा ।

सुर्खेत । कर्णाली प्रदेशमा सत्तासाझेदार दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच अविश्वास झन् चुलिँदै गएको छ ।

केही दिनअघि एकर्काप्रतिको अविश्वासका कारण विवाद सतहमा देखिएको थियो । तर, सत्ता गठबन्धन संयन्त्रको बैठकबाट दुई दलबीचको विवाद समाधान गर्दै साझेदारीलाई बलियो गरेर जाने सहमति गरिएको थियो ।

यसैबीच, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार (भदौ ५) कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरे । उनले देउवासँगको भेटमा समसामयिक राजनीति, विकास, समृद्धि र सुशासनका विषयमा गहन छलफल गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । देउवालाई भेट्न उनी काठमाडौंको बूढानीलकण्ठस्थित उनको निवासमा पुगेका हुन् ।

मुख्यमन्त्री कँडेलले लेखेका छन्, “महत्त्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।”

बिहीबारै कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि देउवासँग भेट गरेका छन् । उनले पनि देउवासँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

मुख्यमन्त्री कँडेलले आफूले ‘आजै हट, भोलि नै हट’ भनेर देउवासँग गुनासो गरेका शाहीले उल्लेख गरेका छन् ।

देउवासँगको भेटबारे मुख्यमन्त्री कँडेलको फेसबुक स्टाटसमा कमेन्ट गर्दै शाहीले लेखेका छन्, “मलाई जीवन शाहीले आजै हट, भोलि नै हट भनेर रिपोर्टिङ गर्नुभएछ त, मेरो ११ बजेको भेटमा सभापतिज्यू भन्दै हुनुहुन्थ्यो ।”

शाहीका अनुसार, देउवाले कँडेललाई मुख्यमन्त्रीबाट हटाउने आशय प्रकट गरेका थिए । कँडेलले भने सामाजिक सञ्जालमा लेखिएको भन्दा देउवासित अरू विषयमा छलफल नभएको जिकिर गरेका छन् ।

यसले देउवासँगको भेटपछि कर्णालीको सत्ताभित्र आन्तरिक मतभेद चर्किएको संकेत देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्