काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले उपसभामुख इन्दिरा रानामगरले गलत गरेको भए त्यति बेलै किन कारबाही नगरिएको भन्दै प्रश्न गरेका छन् ।
बिहीबार (भदौ ५) प्रतिनिधिसभा बैठक बहिष्कार गर्नुअघि रास्वपा सांसद शिव नेपालीले सरकारले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय गरेर हाल जनजातिकी छोरी उपसभामुखविरुद्ध अंकगणितीय खेल खेलेको आरोप लगाए ।
दुईतिहाइ बहुमतबाट उपसभामुख हटाउन लागिएको विषयलाई उनले अंकगणितको दम्भ भन्दै लोकतन्त्रको उपहासका रूपमा अर्थ्याउने प्रयास गरे ।
उनले भारत र चीनले लिपुलेक–कालापानी प्रयोग गर्ने सम्झौता गरेका विरुद्ध सरकारले कदम चाल्ने विश्वास पनि व्यक्त गरे । “लिपुलेक र कालापानीको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने विषय आमसञ्चारमाध्यममा आएको छ,” सांसद नेपालीले भने, “आफ्नो भूभाग संरक्षण गर्न नेपाल सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास लिएका छौँ ।”