काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । बुधबार गरिएको प्रमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्तिले भावुक भएको बताएको निर्माणपक्षले जनाएको छ ।
चलचित्र हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न नसकेको निर्माणपक्षले जनाएको छ । केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार चलचित्र हेर्दा रोइरहेका थिए ।
नोस्टाल्जिक बनाउँदै बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथाले सिनेमा हेरिरँदा रुवाएको सिनेमा हेरेपछि उनीहरूले प्रतिक्रिया दिएका छन् ।
बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको अधिकांशको प्रतिक्रिया जनाएको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
चलचित्र ‘जनै हराएको मान्छे’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । हिमाल न्यौपानेले चलचित्र निर्देशन गरेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।