site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प भन्छन्– मैले ६ युद्ध रोकेँ, युद्धविराम होइन, सत्यता के हो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत सात महिनादेखि रूस–युक्रेन द्वन्द्वलाई चाँडै अन्त्य गर्ने दाबी गर्दै आएका छन् । यद्यपि, उनका यी प्रयासहरू हालसम्म सफल हुन सकेका छैनन् । यसैबीच, ट्रम्पले अन्य केही देशबीच चलिरहेको द्वन्द्वलाई पूर्णरूपमा रोकेर शान्ति स्थापना गरेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले जनवरीमा शपथ लिएयताका ६ महिनामा ६ वटा द्वन्द्व रोकेको दाबी गरेका छन् । 

सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले उनले रोकेका सबै युद्धहरू युद्धविराम नभई स्थायी शान्ति सम्झौता भएको दाबी गरे । उनले युक्रेनलाई पनि युद्धविरामको होइन, स्थायी शान्ति सम्झौताको आवश्यकता रहेको बताए ।

ट्रम्पका यी दाबीहरूबारे धेरै प्रश्नहरू उठेका छन् । उदाहरणका लागि, उनले प्रस्तुत गरेका तथ्यांकमा कति सत्यता छ ? ट्रम्पले द्वन्द्वहरू रोक्न प्रयोग गरेका भनिएका तरिकाहरूको वास्तविकता के हो ? ट्रम्पले यी दाबीहरू बारम्बार किन दोहोर्‍याइरहेका छन् ? 

ट्रम्पका युद्ध रोक्ने दाबीहरू के–के हुन् ?
ट्रम्पले जेलेन्स्कीसँग सोमबार भएको भेटअघि रूस–युक्रेनबीच शान्ति सम्झौता गराउने सम्बन्धमा आफ्नो धारणा राखेका थिए । उनले राष्ट्रपतिको प्रचार अभियान सुरु गर्दा नै आफू राष्ट्रपति बनेको २४ घण्टाभित्रै रूस–युक्रेन युद्ध रोक्ने दाबी गरेका थिए । तर, उनले राष्ट्रपति पद सम्हालेको सात महिना बितिसक्दा पनि रूस–युक्रेन युद्ध जारी छ ।

ट्रम्पका दाबीहरूको सत्यता के हो ?
एकातिर ट्रम्पले सोमबार ६ महिनामा ६ वटा युद्ध रोकेको दाबी गरे भने उनको प्रशासनले सात महिनामा सातवटा युद्ध रोकेको जानकारी दिएको छ । 

रोचक कुरा के छ भने जारी गरिएको सात द्वन्द्वको सूचीमा दुई—सर्बिया–कोसोभो र इजिप्ट–इथियोपियाबीचको अस्थायी सम्झौता ट्रम्पको पहिलो कार्यकालमा भएको थियो । यीमध्ये इजिप्ट–इथियोपियाबीचको द्वन्द्वमा त युद्धविराम सम्झौतामा हस्ताक्षर समेत भएको थिएन ।

ट्रम्प प्रशासनले रोकेको दाबी गरेका केही द्वन्द्वहरू वास्तवमा रोकिएका छैनन् । अर्कोतर्फ, ट्रम्पको दाबी विपरीत रूस–युक्रेन र इजरायल–हमासबीचको द्वन्द्व पनि जारी छ । यद्यपि, ट्रम्पले यी द्वन्द्वहरू पनि रोकेको दाबी गर्दै आएका छन् ।

ट्रम्पले रोकेको दाबी गरिएका द्वन्द्वहरूको वर्तमान स्थिति
आर्मेनिया–अजरबैजान
यी दुई देशबीच सन् १९८० को दशकदेखि नै नागोर्नो–काराबाख क्षेत्रलाई लिएर तनाव थियो, जुन धेरै पटक द्वन्द्वमा परिणत भएको थियो । सन् २०२३ मा भएको युद्धमा अजरबैजानले टर्कीको सहयोगमा नागोर्नो–काराबाख कब्जा गरेको थियो ।

वर्तमान स्थिति के छ ?
ट्रम्पले यो सम्झौतापछि दुई देश लामो समयसम्म मित्र रहने दाबी गरेका छन् । तर, विश्लेषकहरूका अनुसार दुवै देशले आफ्ना जनताको हित र इच्छाअनुसार मात्र यो सम्झौतालाई अगाडि बढाउनेछन् । अर्कोतर्फ, इरान र रूसले यो सम्झौतामाथि आपत्ति जनाउँदै अमेरिकाले यस क्षेत्रको भूराजनीतिक स्थिति बदल्न खोजेको आरोप लगाएका छन् ।
 
डेमोक्रेटिक रिपब्लिक अफ कंगो र रुवान्डा
यी दुई देश वर्षौंदेखि सीमापार द्वन्द्वमा संलग्न छन्, जसका कारण लाखौँ मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । हालैको विवादको कारण कंगोेमा पाइने दुर्लभ खनिज सुन र कोल्टान हो । रुवान्डाले हिंसा भड्काउने बागी समूह ‘एम२३’ लाई समर्थन गरेको आरोप कंगोले लगाउँदै आएको छ ।

यो वर्ष जुनमा कंगो र रुवान्डाका राष्ट्रप्रमुखहरूले ह्वाइट हाउसमा पुगेर शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । ट्रम्पले त्यतिबेला भनेका थिए, “आजदेखि हिंसा र विनाश समाप्त हुन्छ । र, यो क्षेत्रका लागि नयाँ आशा र अवसर आउनेछ ।”

पछिल्ला केही दिनयता कंगोको सेना र रुवान्डा समर्थित एम २३ बागी समूहले एक–अर्कामाथि ट्रम्पको मध्यस्थतामा भएको शान्ति सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । साथै, सीमामा सेना जम्मा गर्ने र हमला गर्ने आरोप–प्रत्यारोप पनि जारी छ । अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूका अनुसार वर्षौंदेखिको अविश्वासका कारण शान्ति सम्झौता र क्षेत्रीय शान्ति निरन्तर खतरामा छ ।

भारत र पाकिस्तान
भारत र पाकिस्तानबीचको हालैको द्वन्द्व तब सुरु भयो जब केही पाकिस्तानी आतंककारीहरूले जम्मू–कश्मीरको पहलगाममा घुसेर २६ पर्यटकको हत्या गरे । जवाफमा भारतले पाकिस्तानमा रहेका लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदजस्ता आतंककारी संगठनका अखडाहरू ध्वस्त पार्‍यो । र, सयौँ आतंककारीहरूलाई मार्‍यो । त्यसपछि पाकिस्तानी सेनाले ड्रोन हमलाको असफल प्रयास गर्‍यो, जसको जवाफमा भारतले पाकिस्तानका धेरै एयरबेस, लडाकु विमान र हतियारहरू नष्ट गर्‍यो ।

सम्झौता कहिले भयो ?
मे ७ मा सुरु भएको द्वन्द्वमा १० मेमा निर्णायक मोड आयो, जब भारतले पाकिस्तानका एयरबेसहरू ध्वस्त पार्‍यो । पाकिस्तानी सेनाका अधिकारीहरूले युद्धविरामका लागि अनुरोध गरेपछि भारतले द्वन्द्व रोक्ने निर्णय गर्‍यो । 
यसै समयमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले दुवै पक्षलाई शान्तिका लागि अपिल गरेका थिए । तर, भारतले द्वन्द्व रोक्ने घोषणा गर्नुअघि नै ट्रम्पले युद्धविराम गराएको श्रेय लिँदै दुवै देशलाई युद्ध रोक्न आफूले बाध्य पारेको दाबी गरे ।

वर्तमान स्थिति के छ ?
भारतले ट्रम्पको दाबीलाई पूर्णरूपमा अस्वीकार गर्दै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदनमा भने अनुसार, भारतले पाकिस्तानविरुद्ध द्वन्द्व रोक्ने निर्णय कुनै बाह्य हस्तक्षेपबिना लिएको थियो । यसमा डोनाल्ड ट्रम्पको कुनै प्रत्यक्ष भूमिका थिएन । भारत सरकारको यो भनाइले ट्रम्पको दाबीलाई गलत साबित गर्छ । यसबाट उत्पन्न उनको असन्तुष्टिको प्रभाव अहिले दुई देशको सम्बन्धमा देखिन थालेको छ ।

इजरायल र इरान
इजरायलले सन् २०२३ मा हमासविरुद्ध युद्ध सुरु गरेपछि लेबनानमा हिजबुल्लाह र यमनमा हूथीहरूजस्ता इराननिकट मानिने संगठनहरूमाथि हमला गर्‍यो । यो वर्ष जुनमा इजरायलले इरानमाथि प्रत्यक्ष हमला गर्‍यो, जसमा इरानका धेरै परमाणु केन्द्रहरू निशानामा परेका थिए ।

सम्झौता कहिले भयो ?
इजरायल–इरानबीच १२ दिनसम्म चलेको द्वन्द्व तब समाप्त भयो जब अमेरिकाले इरानको फोर्दो परमाणु केन्द्रमा बी–२ बमवर्षकबाट बंकर–बस्टर बम खसाल्यो । जवाफमा इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने प्रयास गर्‍यो । तर, अमेरिकी रक्षा प्रणालीले त्यसलाई विफल तुल्याइदियो । यो टकरावपछि ट्रम्पले इजरायल र इरानबीच युद्ध रोकेको दाबी गरे । यद्यपि, अमेरिका स्वयं यो युद्धको हिस्सा बनिसकेको थियो ।

वर्तमान स्थिति के छ ?
युद्धविरामको दाबीका बाबजुत पश्चिम एसियामा स्थिति लगातार नाजुक छ । यदि, इरानले आफ्नो परमाणु कार्यक्रम अगाडि बढायो भने पुनः हमला गर्ने चेतावनी इजरायलले दिएको छ । ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे वार्ताको टेबलमा आउनुपर्ने बताए पनि यसमा कुनै प्रगति भएको छैन ।

कम्बोडिया–थाइल्यान्ड
थाइल्यान्ड र कम्बोडियाबीचको विवाद एक शताब्दीभन्दा पुरानो हो । ८१७ किलोमिटर लामो सीमा र केही ऐतिहासिक मन्दिरहरूलाई लिएर विवाद छ । हालैको विवाद जुन–जुलाईमा सीमापार घुसपेठ र एकतर्फी गोलीबारीको आरोपसँग जोडिएको छ । थाई सैनिकहरू मारिने र घाइते हुने क्रम बढेपछि थाइल्यान्डले सीमामा एफ–१६ लडाकु विमान र सैनिकहरूको संख्या बढाएको थियो ।

सम्झौता कहिले भयो ?
पाँच दिनसम्म सीमापार गोलीबारी भएपछि जुलाईमा युद्धविराममा सहमति भएको थियो । यो युद्धविरामका लागि ट्रम्पको धम्कीलाई कारण मानिन्छ । अमेरिकाको दाबीअनुसार, जब कम्बोडिया र थाइल्यान्डलाई व्यापारमा प्रतिबन्ध लगाउने धम्की दिइयो, तब दुवै वार्ताको टेबलमा आए ।

वर्तमान स्थिति के छ ?
दुवै देशले मलेसियामा भएको बैठकपछि युद्धविराम सम्झौतामा हस्ताक्षर गरे । तर, हालैका दिनहरूमा दुवैले एक–अर्कामाथि युद्धविराम तोडेको आरोप लगाएका छन् । विश्लेषकहरू भन्छन्, यो विवाद फेरि भड्किन सक्छ ।

इजिप्ट–इथियोपिया (ट्रम्पको पहिलो कार्यकालमा)
इथियोपियाले नील नदीमा बनाइरहेको ‘ग्रान्ड इथियोपियन रेनेसान्स ड्याम’लाई लिएर इजिप्ट र इथियोपियाबीच कूटनीतिक द्वन्द्व सुरु भएको थियो । यो बाँधले आफ्नो पानीको आपूर्तिमा असर पार्ने डर इजिप्टलाई छ ।

सम्झौता कहिले भयो ?
ह्वाइट हाउसको दाबीविपरीत यस द्वन्द्वमा युद्धविराम सम्झौतामा कहिल्यै हस्ताक्षर भएन किनभने युद्धजस्तो स्थिति नै थिएन । यो केवल कूटनीतिक द्वन्द्व थियो । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले शान्ति सम्झौता गराउने प्रयास गरे पनि इथियोपिया पछि हटेको थियो ।

वर्तमान स्थिति के छ ?
दुई देश अझै पनि बाँधको उपयोगलाई लिएर सम्झौताको प्रयास गरिरहेका छन्। इजिप्टले जुलाईमा इथियोपियामाथि राजनीतिक इच्छाशक्ति नदेखाएको आरोप लगाएको थियो ।

सर्बिया र कोसोभो (ट्रम्पको पहिलो कार्यकालमा)
सन् २००८ मा कोसोभोले सर्बियाबाट स्वतन्त्रता घोषणा गरेपछि दुई पक्षबीच तनाव सुरु भएको थियो, जुन निरन्तर जारी छ । सर्बियाले हालसम्म कोसोभोको स्वतन्त्रतालाई मान्यता दिएको छैन ।

सम्झौता कहिले भयो ?
सन् २०२० मा ट्रम्प प्रशासनले दुई पक्षबीच ‘वासिङ्टन सम्झौता’ नामक एक सीमित शान्ति सम्झौता गरायो । यो सम्झौता दुई देशबीच सामान्य आर्थिक सम्बन्ध स्थापना गर्ने उद्देश्यले लागु गरिएको थियो ।
 
वर्तमान स्थिति के छ ?
सर्बिया र कोसोभोबीचको विवाद अझै सुल्झिएको छैन । अमेरिका नेतृत्वको नेटोले दुवै पक्षलाई वार्तामार्फत शान्ति स्थापना गर्न अपिल गर्दै आएको छ ।

ट्रम्पले सामाजिक सञ्जालदेखि पत्रकार सम्मेलनसम्म बारम्बार आफूले विभिन्न देशबीच शान्ति स्थापना गराए पनि नोबेल शान्ति पुरस्कार नपाएको गुनासो गरेका छन् ।
 
हालै उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखे, “मलाई नोबेल शान्ति पुरस्कार दिइनेछैन । ...भारत र पाकिस्तानबीच युद्ध रोकेकोमा, सर्बिया र कोसोभोबीच युद्ध रोकेकोमा, इजिप्ट र इथियोपियाबीच शान्ति कायम गरेकोमा वा पश्चिम एसियामा अब्राहम सम्झौताका लागि पनि मलाई नोबेल शान्ति पुरस्कार दिइनेछैन ।”

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र पाकिस्तान सरकारलगायतले सार्वजनिक रूपमै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग गरेका छन् । अजरबैजान, आर्मेनिया र कम्बोडियाबाट पनि यही माग उठेको छ ।

ट्रम्पले भारतको भनाइ विपरीत भारत–पाकिस्तानबीच युद्धविराम गराएको दाबी गर्छन् । 

उनले भनेका छन्, “मैले अहिलेसम्म ४–५ पटक नोबेल शान्ति पुरस्कार पाइसक्नुपर्ने थियो । तर, उनीहरूले यो पुरस्कार उदारवादीहरूलाई मात्र दिन्छन् । मैले जे गरे पनि, चाहे रूस–युक्रेन होस् वा इजरायल–इरान, परिणाम जे भए पनि मलाई नोबेल शान्ति पुरस्कार दिइनेछैन ।” बीबीसी
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्