site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पसँग युक्रेन युद्धबारेको छलफलपछि जेलिन्स्की र युरोपेली नेताले के भने ?

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की र युरोपेली नेताले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्धबारे छलफल गरेका छन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको र दुवै देशका राष्ट्रपतिबीच बैठकको व्यवस्था गर्न लागेको बताएका छन् । क्रेमलिनका अनुसार, उक्त कुराकानी ४० मिनेटसम्म चलेको थियो ।

जेलिन्स्कीले आजको छलफल ‘धेरै राम्रो’ र सुरक्षा ग्यारेन्टीजस्ता संवेदनशील विषयमा कुराकानी भएको बताए । उनले पुटिनसँग द्विपक्षीय भेटघाटका निम्ति आफू तयार रहेको उल्लेख गरे ।

ट्रम्पले युक्रेनका निम्ति सुरक्षा ग्यारेन्टी युरोपेली देशले प्रदान गर्ने र त्यसमा अमेरिकाको समन्वय रहने बताए ।

ट्रम्पले युद्ध अन्त्यका निम्ति वार्ता गर्न युद्धविराम आवश्यक नरहेको बताए । तर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर फ्रेडरिक मर्जले युद्धविरामका निम्ति आग्रह गरे ।

बैठकको नतिजाबाट स्टार्मर ‘धेरै खुसी’
बेलायतका प्रधानमन्त्री सर किएर स्टार्मरले आजको बैठकको नतिजाबाट आफू ‘धेरै खुसी’ भएको बताए । उनले विशेष गरी दुई क्षेत्र, सुरक्षा ग्यारेन्टीमा सफलता र द्विपक्षीय तथा त्रिपक्षीय बैठकहरूमा वास्तविक प्रगति भएको उल्लेख गरे ।

“आज मेरो चाहना यही थियो र यो अवस्थामा आइपुग्दा म निकै खुसी छु,” उनले बीबीसीको प्रश्नमा जवाफ दिए ।

युक्रेन युद्धको कूटनीति अमेरिकाको रुसप्रतिको सम्झौताका रूपमा परिणत हुन लागेको चिन्ताका विषयमा उनले भने, “सबैभन्दा महत्त्वपूर्ण कुरा आजको नतिजामा ध्यान दिनु हो, किनकि मलाई लाग्छ यसले युरोप, युक्रेन र विशेष गरी बेलायतका मानिसलाई आश्वस्त पार्नेछ ।”

दुवै पक्षबाट सम्झौता आवश्यक : मार्को रुबियो
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजमा बोल्दै रुस र युक्रेन दुवैले क्षेत्रीय सम्झौता गर्नुपर्ने बताए ।

“यो सजिलो छैन र सायद निष्पक्ष पनि छैन । तर, युद्ध अन्त्य गर्न यही आवश्यक छ,” गएको साता ट्रम्प र पुटिनको बैठकमा उपस्थित रुबियोले भने ।

रुबियोले यी सिमाना कस्ता हुनेछन् भन्ने पुटिन र जेलिन्स्कीमा निर्भर हुने र अमेरिकाको भूमिका दुई पक्षबीच संवाद निश्चित गर्नु रहेको बताए । “हामी सहजीकरणका निम्ति त्यहाँ हुनेछौँ,” उनले भने ।

डोनबास छाड्नु भनेको अमेरिकाले फ्लोरिडा छाड्नुजस्तै : मर्ज
जर्मन चान्सलर फ्रेडरिक मर्जले हालैको एक पत्रकार सम्मेलनमा भने, “सुरक्षा ग्यारेन्टीमा को सहभागी हुन्छ भन्ने प्रश्नमा यो पूर्ण रूपमा स्पष्ट छ कि सम्पूर्ण युरोप सहभागी हुनुपर्छ ।”

उनले किभसँगको वार्तामा मस्कोको रणनीतिको आलोचना गरे । “किभले डोनबासका स्वतन्त्र भागहरू छाड्नुपर्छ भन्ने रुसको माग अमेरिकाले फ्लोरिडा छाड्नुपर्छ भनेजस्तै हो ।”

युक्रेनलाई युद्ध मैदानमा सहयोग गर्नुपर्छ : म्याक्रोँ
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले वासिङटन डीसीमा पत्रकारसँग कुरा गर्दै युरोपेली सैन्य बलले भविष्यमा युक्रेनमा शान्ति स्थापनामा भाग लिनुपर्ने बताए ।

“हामीलाई बलियो युक्रेनी सेना चाहिन्छ र हामीले युक्रेनलाई युद्ध मैदानमा सहयोग गर्नुपर्छ,” म्याक्रोँले भने, “हामीलाई शान्ति स्थापनाका कार्यहरू चाहिन्छ, जुन युक्रेनका सहयोगीहरू प्रदान गर्न इच्छुक छन् ।”

म्याक्रोँले यस्तो विचार प्रस्तुत गरेको यो पहिलोपटक होइन । तर, पहिलेका प्रयास वास्तविक कार्यान्वयनमा परिणत भएका थिएनन् ।

म्याक्रोँले यदि रुसले खेलबाड गरेमा मस्कोमाथि थप प्रतिबन्ध र कर लगाउन ट्रम्प इच्छुक हुने पनि बताए । उनले रुसी ऊर्जा खरिद गरेकामा भारतमाथि ट्रम्पले पहिले नै कर लगाएको उल्लेख गरे ।

पुटिनमा बैठकमा आउने साहस छ कि छैन, हेरौँ : फिनल्यान्डका राष्ट्रपति
फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै आजको छलफल आंशिक रूपमा सफल भएको तर अमेरिकाको सुरक्षा ग्यारेन्टीमा सहभागिताबारे कुनै ठोस वार्ता नभएको बताए । उनले ट्रम्पले जेलिन्स्की र पुटिनबीच द्विपक्षीय बैठक प्रस्ताव गरेको तर रुसी नेतालाई विश्वास गर्न नसकिने बताए ।

उनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता कायम राख्ने लक्ष्य रहेको र सुरक्षा ग्यारेन्टी अर्को हप्ताभित्र तय हुन सक्ने बताए ।

ट्रम्प व्यावहारिक शान्तिदूत : नेटो प्रमुख
नेटो महासचिव मार्क रुटेले आजको बैठकलाई धेरै सफल भन्दै फक्स न्युजमा ट्रम्पलाई व्यावहारिक शान्तिदूतको संज्ञा दिए ।

“उनी दबाब दिइरहेका छन्, समाधानका निम्ति बाटो पनि खोजिरहेका छन्,” रुटेले ट्रम्पबारे भने ।

उनले पुटिनसँग संवादको ढोका खोल्नु महत्त्वपूर्ण भएको र रुस, अमेरिका तथा युक्रेनबीच त्रिपक्षीय बैठकका निम्ति काम भइरहेको बताए । उनका अनुसार, आजको मुख्य ध्यान सुरक्षा ग्यारेन्टीमा थियो । र, नेताहरूले अबका दिनमा यी उपायमा काम गर्नेछन् ।

पुटिनसँग द्विपक्षीय वार्ताका लागि तयार छौँ : जेलिन्स्की
जेलिन्स्कीले आजको बैठकले राम्रो नतिजा दिएको र ट्रम्पसँगको अघिल्लो भेटमा जस्तो कुनै विवाद नभएको बताए । उनले आजको भेटलाई ‘न्यानो’ भनेर वर्णन गरे ।

एक पत्रकारले ओभल अफिसमा देखिएको युक्रेन र रुसको नक्साबारे प्रश्न गर्दा जेलिन्स्कीले भने, “म त्यो नक्सामा भएको कुराका निम्ति लडिरहेको छु ।”

उनले ट्रम्पले देखाएको नक्सा कसले के नियन्त्रण गर्छ भन्ने हिसाबले सही नभएको संकेत गरे ।

जेलिन्स्कीले ह्वाइट हाउसमा भएको छलफलका विषय उल्लेख गरे । उनले सुरक्षा ग्यारेन्टी मुख्य विषय भएको र यो युद्ध अन्त्यका निम्ति आवश्यक सुरुआत विन्दु हुने बताए । अमेरिका पनि ग्यारेन्टी प्रदान गर्ने देशमा समावेश हुने उनको भनाइ थियो ।

उनले ट्रम्पले त्रिपक्षीय बैठकलाई समर्थन गरेको र यसले आफूलाई पुटिनसँग आमने–सामने ल्याउने बताए । पुटिनले हालसम्म जेलिन्स्कीसँग प्रत्यक्ष भेटघाट गर्न अस्वीकार गर्दै आएका छन् ।

जेलिन्स्कीले ट्रम्पले रुससँग कुराकानी गरेर भविष्यका कूटनीतिक कदमबारे छलफल गरेको जानकारी दिए । उनले भने, “हामी पुटिनसँग द्विपक्षीय वार्ताका लागि तयार छौँ ।”

जेलिन्स्कीले आफू र पुटिनबीच भविष्यमा हुने कुनै पनि वार्ताको मिति पक्का नभएको बताए । “हामीले राष्ट्रपतिसँगको यो फलदायी बैठकपछि युक्रेन र रुसबीच वार्ता जारी रहने कुरा पक्का गरेका छौँ,” उनले भने ।

उनले आज त्रिपक्षीय बैठकको तयारी पक्का भएको तर रुसले अमेरिकी राष्ट्रपतिलाई द्विपक्षीय प्रस्ताव गरेको भए आफूले नतिजा हेर्ने बताए । “युक्रेन शान्तिको बाटोबाट कहिल्यै पछि हट्ने छैन,” उनले ह्वाइट हाउसबाहिर पत्रकारको प्रश्नको जवाफ दिँदै भने ।

अपहरित बालबालिका फिर्ता गर्न आह्वान 
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनका हराएका बालबालिका फिर्ता गर्न रुसलाई आह्वान गरिन् । “यो युद्धको मानवीय क्षति अन्त्य हुनुपर्छ,” उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “यसको अर्थ रुसले अपहरण गरेका प्रत्येक युक्रेनी बालबालिका उनीहरूको परिवारमा फिर्ता हुनुपर्छ ।”

ह्वाइट हाउस वार्ताबीच ट्रम्प र पुटिनले गरे ४० मिनेट कुराकानी : क्रेमलिन
क्रेमलिनले ट्रम्पले जेलिन्स्की र युरोपेली नेतासँगको ह्वाइट हाउस वार्ताबीच पुटिनसँग ४० मिनेट फोनमा कुराकानी गरेको पुष्टि गरेको छ । रुसी सञ्चारमाध्यमले पुटिनका प्रवक्तालाई उद्धृत गर्दै यो कुराकानी भएको पुष्टि गरेका हुन् ।

कुराकानीमा के छलफल भयो भन्ने अझै स्पष्ट छैन । रुसी सञ्चारमाध्यमले थप विवरण खुलाएका छैनन् ।

ट्रम्पले पुटिनसँगको कुराकानी सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । “बैठकहरू सकिएपछि मैले राष्ट्रपति पुटिनलाई फोन गरेर उहाँ र राष्ट्रपति जेलिन्स्कीबीच निर्धारित स्थानमा बैठकको व्यवस्था गर्न सुरु गरेँ,” उनले लेखेका छन्, “त्यस बैठकपछि हामी दुई राष्ट्रपति र मेरो साथमा त्रिपक्षीय बैठक गर्नेछौँ ।”

ट्रम्पले आजको छलफलमा युक्रेनका निम्ति सुरक्षा ग्यारेन्टीबारे कुरा भएको उल्लेख गरे । यस्तो ग्यारेन्टी विभिन्न युरोपेली देशले प्रदान गर्ने तथा अमेरिकाले समन्वय गर्ने बताएका छन् । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्