site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा सीपी राधाकृष्णन सत्तारूढ गठबन्धनको उपराष्ट्रपति उमेदवार

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता तथा हाल महाराष्ट्र राज्यका राज्यपाल सीपी राधाकृष्णनलाई राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले उपराष्ट्रपति पदको उमेदवार घोषणा गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले औपचारिक रूपमा यो घोषणा गरेका हुन् ।

जीतन राम माझीले पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । राधाकृष्णन चार दशकभन्दा बढी समयदेखि राजनीति र सामाजिक जीवनमा सक्रिय छन् । उनलाई तमिलनाडुको सम्मानित राजनीतिक व्यक्तित्व मानिन्छ ।

सीपी राधाकृष्णन सन् १९५७ अक्टोबर २० मा तमिलनाडुको तिरुपुर जिल्लामा जन्मिएका हुन् । उनको राजनीतिक यात्रा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)बाट सुरु भएको थियो । सन् १९७४ मा उनी भारतीय जनसंघको राज्य कार्यकारिणी समितिका सदस्य बने । सन् १९९६ मा राधाकृष्णनलाई भाजपा तमिलनाडुको सचिव नियुक्त गरिएको थियो । सन् १९९८ मा कोयम्बटूरबाट उनी पहिलोपटक लोकसभा सांसद निर्वाचित भए । र, सन् १९९९ मा पुनः विजयी भएका थिए ।

सन् २००४ देखि २००७ सम्म उनी भाजपा तमिलनाडुका प्रदेश अध्यक्ष रहेका थिए । सन् २०२३ फेब्रुअरी १८ मा उनी झारखण्डका राज्यपाल नियुक्त भएका थिए ।

सन् २०२४ जुलाई ३१ मा उनी महाराष्ट्रका राज्यपाल बने । त्यसै वर्ष उनी तेलंगानाका राज्यपाल र पुड्डुचेरीका उपराज्यपाल पनि नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्