site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यस्तो छ भारतीय विदेशसचिव मिश्रीको राजनीतिक भेटको तालिका

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै छन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेशसचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका निम्ति आज काठमाडौं आउन लागेका हुन् । बिहान ९ बजे उनी काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ देखि असोज १ गतेसम्म  हुन लागेको भारत भ्रमणको तयारीस्वरूप भारतीय विदेश सचीव नेपाल आउन लागेका हुन् । 

भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आएलगत्तै प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यसपछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतीय विदेश सचिव मिश्रीले आइतबार नै परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम छ । 

आइतबार नै मिश्री नेपाल–भारत  सचिवस्तरीय दिपक्षिय बैठकमा सहभागी हुनेछन् । बैठक साँझ होटेल सोल्टीमा हुनेछ । बैठकमा दुई विदेश सचिवहरूले कनेक्टिभिटी, विकास, सहयोग र पारस्परिक हितका अन्य मामिलाहरूमा केन्द्रित रहेर नेपाल–भारत साझेदारीका विभिन्न पक्षहरूमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणमा रहँदा मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले केही मधेस केन्द्रित दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

भारतीय विदेश सचिव मिश्री सोमबार दिउँसो १ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्