काठमाडौं । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक सिनेमा नभएको निर्माणपक्षले प्रष्ट पारेको छ । नाम सुन्दा धार्मिक जस्तो लागे पनि त्यस्तो नरहेको निर्माणपक्षको दाबी छ ।
सुरुमा यो चलचित्रको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ थियो । तर, निर्माणपक्षले यसको केही समय अगाडि नाम परिवर्तन गरेर बाहुनका ठाउँमा मान्छे राख्यो ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक सिनेमा नभएको निर्देशक हिमाल न्यौपानेले बताएका छन् । “हाम्रो सिनेमा धार्मिक होइन । सोसल स्टोरी हो । विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो,” निर्देशक न्यौपानेले भने, “तर, पनि हामी क्रिएटिभ काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौँ । त्यसैले शब्द परिवर्तन गरेर बाहुनका ठाउँमा मान्छे राखेका हौँ ।”
सम्बन्धहरूका बारेमा चलचित्र बनेको उनले प्रष्ट पारे । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।