site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी भयो : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकका लागि बन्न नसकेको बताएका छन् । बिहीबार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रममा महतोले लोकतन्त्र स्थापना भएको ३५ वर्ष बितिसक्दा पनि नागरिकले आफ्नो अधिकार पाउन नसकेको बताए ।

उनले अहिलेका शीर्ष तीन नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'मा समेत एकल नश्लीय शासन प्रवृत्ति हाबी भएको आरोप लगाए ।

“यो देशले क्रान्ति खोजिरहेको छ । यो देशमा उत्पीडन व्याप्त छ । यो आजैदेखि भएको होइन । नेपालको निर्माण जसरी भएको थियो, सोही जगमा शासन चलाइएन । जुन जगमा नेपालको निर्माण भयो, सोही आधारमा शासन चलाउनुपर्थ्यो, संविधान निर्माण हुनुपर्थ्यो । त्यही नभएर नेपालमा समस्या आएको छ,” उनले भने ।

उनले अगाडि थपे, “ओली प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो, देउवा प्रवृत्ति एकल नश्लीय शासन प्रवृत्ति हो । प्रचण्ड प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो । देश एकल होइन अनि शासन चाहिँ एकल गर्ने ? यो देशको शासन, संविधान र प्रशासन एकल भइदियो । यस्तो पनि हुन्छ ? सातवटा संविधान बन्दा पनि एउटै संविधान जनताका लागि बन्दैन ।”

– न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्