काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सह–कोषाध्यक्ष दिपक बोहरालाई पदाधिकारीबाट हटाएको छ । रास्वपाले निर्वाचन आयोगमा पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यको विवरण अध्यावधिक गर्दा सह–कोषाध्यक्षमा रहेका बोहरालाई केन्द्रीय सदस्य मात्र राखेको छ ।
अहिले बोहरा केन्द्रीय सदस्य मात्र रहेको विवरण निर्वाचन आयोगमा छ । रवि लामिछानेको कोर टिमका सदस्य मानिने बोहरा लामिछानेसँग न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ देखि जोडिएका थिए । कार्यक्रमको 'प्रोड्युसर'का रूपमा जोडिएका बोहरा ग्यालेक्सी फोरके टेलिभिजन हुँदै रविसँगै पार्टीमा लागेका थिए ।
उनलाई जलेश्वर बैठकबाट सहकोषाध्यक्ष बनाइएको थियो । पछिल्लो समय रास्वपाले सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रविमाथि प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । उक्त अभियानको संयोजक सहकोषाध्यक्षको हैसियतमा बोहरा नै तोकिएका छन् ।
हस्ताक्षर अभियान सफल भएको भन्दै केही दिनअघि कार्यवाहक अध्यक्ष डीपी अर्यालले सहमहामन्त्रीमा बढुवा प्रस्ताव गरेका थिए । तर, पार्टीभित्रै विरोध भएर सहमहामन्त्री हुन रोकिएका बोहरा निर्वाचन आयोगमा अध्यावधिक हुँदा भने यस अघि नै बहाल रहेको पद सहकोषाध्यक्षबाटै हटाइएको पाइएको छ ।
रास्वपाका केही पदाधिकारीहरू एक पदमा एक व्यक्ति मात्र राख्ने र एउटै पदमा धेरै जना नराख्ने नीतिअन्तर्गत बोहरालाई हटाइएको तर्क गर्छन् । तर, रास्वपामा डीपी र डा. स्वर्णिम वाग्ले दुईजना उपसभापति छन् ।