काठमाडौं । एनभिडिया र एएमडीले चीनमा आफ्ना एआई चिपहरूको बिक्रीबाट प्राप्त कमाईको १५ प्रतिशत हिस्सा अमेरिकी सरकारलाई दिन सहमत भएका छन् ।
एनभिडियाले ग्राफिक्स चिपमा विशेषज्ञता हासिल गरेको छ भने एएमडी एक सेमिकन्डक्टर कम्पनी हो । यो सीपीयू माइक्रोप्रोसेसर क्षेत्रमा इन्टेल कर्पको प्रतिस्पर्धी हो ।
यसअघि अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता क्षेत्रमा प्रयोग हुने शक्तिशाली चिपहरूको बिक्रीमा चीनमाथि प्रतिबन्ध लगाएको थियो ।
सुरक्षा विज्ञहरूले एनभिडियाको एच२० चिप चीन निर्यातबारे गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका थिए ।
एनभिडियाको एच२० चिप ठूलो मात्रामा एआईका लागि प्रयोग गरिन्छ । यो चिप विशेषरूपमा चिनियाँ बजारका लागि विकास गरिएको थियो । यो वर्षको अप्रिलमा ट्रम्प प्रशासनले यसको बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।
एनभिडियाका सीईओ जेन्सन हुआङले चीनमा चिप बिक्रीका लागि महिनौँसम्म लबिङ गरेका थिए । गत साता उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गरेका थिए ।
एनभिडियाले बीबीसीलाई बताएअनुसार, “हामी विश्वभरका बजारहरूमा हाम्रो संलग्नताका लागि अमेरिकी सरकारले तोकेका नियमहरूको पालना गर्छौं । तर, हामीले महिनौँदेखि चीनमा एच२० चिप पठाएका छैनौँ ।”
फाइनान्सियल टाइम्सका अनुसार, एएमडीले पनि आफ्नो एमआई ३०८ चिप चीनमा बिक्रीबाट प्राप्त कमाइको १५ प्रतिशत हिस्सा अमेरिकी सरकारलाई दिनेछ ।
यो सम्झौताले अमेरिकामा आश्चर्य र चिन्ता उत्पन्न गरेको समाचारमा उल्लेख छ । आलोचकहरूले यसले सुरक्षा जोखिमहरू र ट्रम्प प्रशासनको निजी व्यवसायसँगको व्यवहारको दृष्टिकोणबारे प्रश्न खडा गरेको बताएका छन् । बीबीसी