काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट तेल आयात गरेकोमा चीनमाथि पनि ट्यारिफ लगाउने विषयमा विचार गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।
भान्सले ट्रम्प चीनमाथि ट्यारिफ लगाउने विषयमा विचार गरिरहेका भए पनि हालसम्म अन्तिम निर्णय नभएको बताए ।
एक मिडिया अन्तर्वार्ताको क्रममा भारतमाथि रूसबाट तेल खरिदका लागि ट्यारिफ लगाएपछि अमेरिकाले चीनविरुद्ध पनि यस्तो कदम चाल्न सक्छ भन्ने प्रश्न गरेका थिए । भान्सले भने, “राष्ट्रपति ट्रम्पले यो विषयमा विचार गरिरहेका छन्, तर हालसम्म कुनै निर्णय भएको छैन । चीनसँग हाम्रो सम्बन्ध जटिल छ । रूसको अवस्थालाई छोडेर पनि, चीनमाथि ट्यारिफ लगाउँदा अन्य धेरै कुराहरू प्रभावित हुन सक्छन् । त्यसैले राष्ट्रपति हाल यो विषयमा विचार गरिरहेका छन् ।”
एक तथ्यांकअनुसार, सन् २०२५ को जुलाईमा चीनले रूसी तेल आयात १० अर्ब डलरभन्दा बढी गरेको बताइएको छ । यो मार्चपछि सबैभन्दा उच्च मासिक आयात थियो । यद्यपि, सन् २०२५ मा चीनको रूसबाट कुल आयात सन् २०२४ को तुलनामा ७.७ प्रतिशतले घटेको छ ।
अमेरिकाको ट्यारिफ धम्कीबीच, चीनले रूससँगको आफ्नो ऊर्जा व्यापारको बचाउ गरेको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एक वक्तव्यमार्फत भन्यो, “रूससहित विश्वका सबै देशहरूसँग सामान्य आर्थिक, व्यापारिक र ऊर्जा सहयोग गर्नु चीनको लागि कानुनी रूपमा वैध छ । हामी हाम्रा राष्ट्रिय हितहरूअनुसार तेल खरिद जारी राख्नेछौँ ।”
गत हप्ता ट्रम्पले रूसबाट तेल आयात गरेकोमा भारतमाथि २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेका थिए यो अगस्ट २७ बाट लागु हुनेछ ।