site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘कुलिङ पिरियड’ प्रकरण : प्रतिवेदन कार्यान्वयनबारे सभामुखको छलफल
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ गडबडीबारे संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल गरेका छन् । सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सत्तारूढ नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्ताैला, नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका हुन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताए । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेकाले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे । 

राज्यव्यवस्था समितिको नयाँ सचिवका रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिइएको र समितिको काम अब धेरै समय रोक्न नसकिने बताए । नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् । सभामुखले गएको शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए । 

सभामुखले सोमबार पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्