काठमाडौं । इजरायलले गाजा सिटीमाथि नियन्त्रण कायम गर्ने आफ्नो योजनालाई लिएर विश्वभरबाट भइरहेको आलोचनालाई अस्वीकार गरेको छ ।
इजरायलका रक्षामन्त्री इसराइल कात्जले भने, “हामीलाई निन्दा गर्ने र प्रतिबन्धको धम्की दिने देशहरूले हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैनन् ।”
उनले थपे, “हाम्रा शत्रुहरूले हामीलाई बलियो पाउनेछन्, जसले उनीहरूमाथि ठूलो शक्तिका साथ आक्रमण गर्नेछ ।”
गाजा सिटीमाथि नियन्त्रणको इजरायली निर्णयको संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्स, क्यानडालगायत धेरै देशले निन्दा गरेका छन् । जर्मनीले इजरायललाई सैन्य सामग्री निर्यात रोक्ने बताएको छ ।
इजरायली सुरक्षा मन्त्रिमण्डलले शुक्रबार गाजा सिटीमाथि नियन्त्रण गर्ने योजनालाई अनुमोदन गर्दै यसका लागि पाँचवटा बुँदा पनि निर्धारण गरेको थियो ।
इजरायली सेनाले यी पाँच बुँदाअनुसार गाजा नियन्त्रण र युद्ध समाप्त गर्न काम गर्नेछ ।
इजरायली मिडिया रिपोर्टका अनुसार, योजनाको पहिलो लक्ष्य गाजा सिटीमाथि पूर्ण नियन्त्रण कायम गर्नु र करिब दश लाख मानिसलाई दक्षिणतर्फ स्थानान्तरण गर्नु हो ।
इजरायली सेनाले मध्य गाजाका शरणार्थी शिविरहरू र बन्धकहरू राखिएको हुनसक्ने क्षेत्रहरूमा पनि नियन्त्रण कायम गर्नेछ । मानवीय सहायतामा वृद्धि गर्दै केही हप्तापछि दोस्रो आक्रमण गर्ने इजरायलको योजना छ ।
यो योजनाको इजरायलभित्रै पनि विरोध भइरहेको छ । विरोध गर्नेमा केही सैन्य अधिकारी र गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारहरू छन् ।
हमासले गाजामाथि नियन्त्रणको यो योजनालाई नयाँ युद्ध अपराध भन्दै यसका लागि इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । बीबीसी