site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले ५० प्रतिशत कर लगाएपछि भारतद्वारा अमेरिकी हतियार खरिद योजना स्थगित

काठमाडौं । भारतले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने योजना स्थगित गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको निर्यातमा लगाएको करपछि भारतको असन्तुष्टिको यो पहिलो ठोस संकेत हो । यसले दुई देशबीचको सम्बन्ध दशकौँयताकै निम्न स्तरमा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतले रक्षा मन्त्री राजनाथ सिंहलाई आगामी हप्ताहरूमा खरिद सम्बन्धी घोषणाका लागि अमेरिका पठाउने योजना बनाएको भए पनि उक्त भ्रमण रद्द गरिएको भारतीय  अधिकारीले बताएका छन् ।

रूसले युक्रेनमा गरिरहेको आक्रमणलाई भारतले सहयोग गरेको आरोप लगाउँदै अगस्ट ६ मा ट्रम्पले भारतको रूसी तेल खरिदलाई लिएर २५ प्रतिशत अतिरिक्त आयात कर  लगाएका थिए । यसले भारतीय निर्यातमा कुल कर ५० प्रतिशत पुगेको छ । यो अमेरिकाको कुनै पनि व्यापारिक साझेदारमाथि लगाइएको सबैभन्दा उच्च कर हो ।

ट्रम्पले कर नीतिमा छिटो परिवर्तन गर्ने इतिहास छ ।  भारतले अमेरिकासँग छलफल गरिरहेको बताएको छ । 

कर र द्विपक्षीय सम्बन्धको दिशा स्पष्ट भएपछि रक्षा खरिदअगाडि बढ्नसक्ने भन्दै एक अधिकारीले भने, “अहिले जति छिटो अपेक्षा गरिएको छ, त्यति छिटो हुँदैन ।”

खरिद स्थगित गर्ने लिखित निर्देशन नदिइएको अर्का अधिकारीले बताएको समाचारमा उल्लेख छ । यसले छिट्टै निर्णय उल्टाउन सक्ने सम्भावना रहेकोतर्फ संकेत गर्ने भए पनि अहिलेलाई कुनै प्रगति नभएको बताइएको छ ।

यो समाचार प्रकाशित भएपछि भारत सरकारले रक्षा मन्त्रालयको स्रोतलाई उदृत गर्दै खरिद वार्ता स्थगित भएको समाचारलाई झुटो र मनगढन्ते भनेर खण्डन गरेको छ । मन्त्रालयले खरिद प्रक्रिया विद्यमान प्रक्रिया अनुसारअगाडि बढिरहेको बताएको छ ।

हालैका वर्षहरूमा अमेरिकासँग नजिकको साझेदारी बनाएको दिल्लीले आफूलाई अनुचित रूपमा निशाना बनाइएको र अमेरिका तथा युरोपेली सहयोगीहरूले आफ्नो हितमा मस्कोसँग व्यापार गरिरहेको बताएको छ ।

अमेरिकासँग जनरल डायनामिक्स ल्यान्ड सिस्टम्सद्वारा निर्मित स्ट्राइकर लडाकु विमान र रेथियन्स र लकहिड मार्टिनद्वारा विकसित ज्याभलिन एन्टी–ट्यांक मिसाइलको खरिद वार्ता करका कारण स्थगित भएको रोयटर्सले जनाएको छ ।

ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरीमा यी वस्तुहरूको खरिद र संयुक्त उत्पादनको योजना घोषणा गरेका थिए ।

रक्षा मन्त्री सिंहले रद्द भएको भ्रमणमा भारतीय नौसेनाका लागि ६ वटा बोइङ ए–८–आई टोही विमान र सपोर्ट प्रणालीको खरिद् घोषणा गर्ने योजना बनाएको दुई अधिकारीले बताए ।

३.६ अर्ब डलरको प्रस्तावित सम्झौतामा विमान खरिद वार्ता अन्तिम चरणमा थियो । बोइङ, लकहिड मार्टिन र जनरल डायनामिक्सले यसबारेमा प्रश्न गर्दा भारतीय र अमेरिकी सरकारलाई प्रश्न गर्न सुझाए । रेथियन्सले टिप्पणीका लागि अनुरोधको जवाफ दिएन ।

चीनसँगको साझा रणनीतिक प्रतिस्पर्धाका कारण भारत र अमेरिकाबीचको गहिरिँदो सुरक्षा सम्बन्धलाई पहिलो ट्रम्प प्रशासनको विदेश नीतिको प्रमुख प्रगति मानिएको थियो ।

विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता भारतले परम्परागत रूपमा रूसबाट हतियार आयात गर्दै आएको छ ।
 
स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार हालैका वर्षहरूमा रूसको हतियार निर्यातमा आएको कमी र युक्रेन आक्रमणमा रूसी हतियारको कमजोर प्रदर्शनका कारण भारतले फ्रान्स, इजरायल र अमेरिकाबाट आयात बढाएको छ ।

गुप्तचर आदानप्रदान र संयुक्त सैन्य अभ्याससहित अमेरिका–भारतबीच रक्षा साझेदारीबिना अवरोध जारी रहेको एक भारतीय अधिकारीले बताए ।

रूसबाट तेल आयात घटाउन र अमेरिकासहित अन्यत्रबाट समान मूल्यमा तेल खरिद गर्न भारत खुला रहेको दुई अन्य भारतीय स्रोतले बताए ।

ट्रम्पको धम्की र भारतमा बढ्दो अमेरिका–विरोधी राष्ट्रवादले मोदीलाई रूसबाट अमेरिकातर्फ सर्न राजनीतिक रूपमा कठिन बनाएको स्रोतले बताएको समाचारमा उल्लेख छ ।

 यद्यपि, रूसी तेलको लागत छुट २०२२ यताकै न्यून स्तरमा झरेको बताइएको छ । भारतको पेट्रोलियम मन्त्रालयले तत्काल टिप्पणी गर्न नमानेको समाचारमा उल्लेख छ । रोयटर्स 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्