काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको घोषणा गरेका छन् ।
फेसबुक पोस्टमार्फत जारी पत्रमा मानेटले ट्रम्पको असाधारण कूटनीतिको प्रशंसा गर्दै उनको हस्तक्षेपले कम्बोडिया र थाइल्यान्डबीचको सीमा विवाद शान्त भएको बताए ।
जुलाई २६ मा ट्रम्पको फोन वार्तापछि जुलाई २८ मा मलेसियामा युद्धविराम भएको थियो । पाँच दिनको उक्त द्वन्द्वमा ४३ जनाको मृत्यु भएको थियो । तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका थिए ।
पाकिस्तान र इजरायलका प्रधानमन्त्रीले यसअघि नै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेका छन् ।
कम्बोडियाले अमेरिकाले आयात शुल्क ४९ प्रतिशतबाट घटाएर १९ प्रतिशत बनाएकोमा पनि ट्रम्पप्रति आभार व्यक्त गरेको छ । रोयटर्स