site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको फोर्ट स्टिवर्ट सैन्य बेसमा आक्रमण, पाँच सैनिक घाइते

काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा रहेको फोर्ट स्टिवर्ट सैन्य बेसमा बुधबार आक्रमण भएको छ । हमलामा पाँच  सैनिक गोली लागेर घाइते भएका छन् ।

आक्रमणकारीलाई सैन्य अधिकारीले नियन्त्रणमा लिएका छन् । यसअघि गोली हान्ने आक्रमणकारी फरार भएको सूचनापछि राज्यमा आतंक मच्चिएको  थियो । जसका कारण बेसका धेरै स्थानहरू सिल गरिएको थियो ।

जर्जिया राज्यको राजधानी सवाना सहरबाट करिब ६४ किलोमिटर दक्षिण पश्चिममा रहेको फोर्ट स्टीवर्ट आर्मी बेसको विशाल परिसरका केही भागलाई घटनाको समयमा नाकाबन्दी गरिएको थियो । 

फोर्ट स्टीवर्टको आधिकारिक फेसबुक पेजमा पहिले पोस्ट गरिएको एक सन्देशले प्रभावित क्षेत्रका सबै कर्मचारीहरूलाई भित्रै बस्न, सबै झ्याल र ढोका बन्द गर्न र ताला लगाउन  आग्रह गरिएको थियो ।

सैन्य बेसको एक वक्तव्यका अनुसार, गोलीबारी दोस्रो आर्मड ब्रिगेड कमब्याट टिमको नजिकै भएको थियो । फोर्ट स्टिवर्ट तेस्रो इन्फेन्ट्री डिभिजनमा कार्यरत हजारौँ सैनिकहरू र तिनका परिवारहरूको घर हो ।

सैन्य अधिकारीहरूले हालसम्म आक्रमणकारीको पहिचान वा घाइते सैनिकहरूको अवस्थाबारे विवरण सार्वजनिक गरेका छैनन् । 

जर्जिया राज्यका गभर्नर ब्रायन केम्पले घटनाप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा एजेन्सीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । 

यो घटनाले अमेरिकामा सैन्य अड्डाहरूको सुरक्षा व्यवस्थामाथि फेरि एकपटक प्रश्न उठाएको छ । द इन्डियन एक्सप्रेस 
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्