काठमाडौं । नुवाकोटको बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइडका स्थानीयमाथि अत्याचार गरिएको भन्दै संसद्मा आवाज उठाइएको छ ।
बुधबार (साउन २१) प्रतिनिधिसभा बैठकमा सांसद सीता मिजारले उपत्यकाको फोहोरको प्रदूषणले महामारी र दीर्घरोगको सिकार बनिरहेका स्थानीयलाई मलामी जाँदा समेत प्रहरीले दुर्व्यवहार गरेको बताइन् ।
“नुवाकोटको बन्चरेडाँडास्थित ल्यान्डफिल्ड स्थानीय बासिन्दाहरू वर्षौंदेखि फोहोरबाट सिर्जित दुर्गन्ध र वातावरणीय प्रदूषणका कारण क्यान्सरलगायत जटिल स्वास्थ्य समस्या र अन्य विविध समस्याबाट पीडित हुँदै आएका छन्,” सांसद मिजारले भनिन्, “हाल सरकारले त्यहाँ प्रहरीको संरचना राखेर स्थानीयहरूलाई मृत्यु संस्कारका लागि घाटमा जाँदा समेत ज्यादती गर्दै आएको छ ।”
उनले पीडितले अवरोध गरेपछि सरकारले वार्ता र सम्झौता गर्ने गरे पनि माग सम्बोधन नगरिएको बताइन् । सरकारलाई जिम्मेवार हुन उनले आग्रह गरिन् ।
“सरकारले पीडितहरूको माग सम्बोधन गर्न पटक–पटक सम्झौता गरेता पनि कार्यान्वयन नगरेपछि स्थानीयहरू उक्त स्थानमा फोहोर विसर्जन गर्न रोक लगाउने मनस्थितिमा पुगेका छन्,” उनले भनिन्, “यसबाट राजधानीमा बसोबास गर्ने ५० लाखभन्दा बढी जनता प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । यति गम्भीर विषयलाई सरकारले किन नजरअन्दाज गरिरहेको छ ?”
स्थानीयसँगको सम्झौता तत्काल कार्यान्वयन थालेर समस्याको दिगो समाधान खोज्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।