काठमाडौं । यदि, तपाईंले अमेरिकाको हवाई राज्यमा ड्रोन प्रयोग गरेर लामखुट्टेहरू जंगलमा छोडिएको सुन्नुभएको छ ? यो सुनेर तपाईंले अचम्म मान्नुभएको छ भने अचम्म मान्ने तपाईं मात्र एक्लो हुनुहुन्न । सुन्दा अनौठो लाग्ने यो कदम एक सुव्यवस्थित र योजनाबद्ध संरक्षण कार्यक्रमको एक अंग हो ।
छोडिएका लामखुट्टे साधारण किरा मात्र होइनन् । यी विशेष लामखुट्टेहरू हवाई राज्यका दुर्लभ र संकटग्रस्त चराहरूलाई लोप गराउने रोगबाट जोगाउने दीर्घकालीन रणनीतिक योजना हो ।
विशेषगरी हवाईमा हवाई हनिपक्रपर जातका चराहरूको अस्तित्व गम्भीर संकटमा छ । यहाँ पहिले ५० भन्दा बढी प्रजातिका चराहरू रहेकोमा अहिले जम्मा १७ प्रजातिका चारा मात्र बाँकी छन् । तीमध्ये अधिकांश लोपोन्मुख अवस्थामा छन् । ‘अकिकिकी’ नामक एक प्रजाति सन् २०२३ मा लोप भएको घोषणा गरिएको थियो ।
चराहरू लोप हुनुको प्रमुख कारण के हो ?
चराहरू लोप हुनुको मुख्य कारण मलेरिया हो, जुन लामखुट्टेबाट सर्ने एक प्राणघातक रोग हो । अझ दुःखद कुरा के हो भने लामखुट्टेहरू हवाईका मौलिक प्रजाति होइनन् । सन् १८२६ मा बाहिरबाट आएका यी रोगवाहक आक्रमणकारी किराहरूले हवाईको पारिस्थितिक सन्तुलनलाई पूर्ण रूपमा अस्तव्यस्त पारेका थिए ।
यी लामखुट्टेहरू सामान्यतया तल्लो उचाइका उष्ण क्षेत्रहरूमा पाइन्छन्, जसले गर्दा चराहरू लामखुट्टे मुक्त चिसो क्षेत्रमा अर्थात् पहाडतिर सर्न बाध्य भएका छन् । तर, अब जलवायु परिवर्तनले त्यो समीकरण नै उल्ट्याइरहेको छ ।
“जलवायु परिवर्तनका कारण तापक्रम बढ्दो क्रममा छ, जसले लामखुट्टेहरू पहाडी क्षेत्रतर्फ उक्लिरहेका छन्,” हवाईस्थित अमेरिकी चरा संरक्षण संस्थाका कार्यक्रम निर्देशक डा. क्रिस फार्मरले सीएनएनसँग भने ।
तापक्रम अनुकूल भइरहँदा लामखुट्टेहरू अझ माथिसम्म पुग्न सक्ने र चराहरूका लागि सुरक्षित बासस्थान नै नरहने जोखिम बढेको छ । यदि, यो दुश्चक्र रोकिएन बाँकी हनिक्रिपरहरू पनि गुमाउनुपर्ने फार्मर बताउँछन् ।
जानाजानी छोडिएका लाखौँ लामखुट्टेहरू
प्रयोगशालामा हुर्काइएका लामखुट्टेहरूको कथा यहाँबाट सुरु हुन्छ । यी छोडिएका लामखुट्टे रगत चुस्ने लामखुट्टेहरू होइनन् । तिनीहरू सबै भाले लामखुट्टेहरू हुन् । भाले लामखुट्टेले टोक्दैन ।
यी विशेष भाले लामखुट्टेमा एउटा प्राकृतिक रूपमा पाइने ब्याक्टेरिया हुन्छ, जसले गर्दा उनीहरू जंगली पोथीसँग मिल्दा प्रजनन प्रक्रिया सफल हुँदैन । परिणामस्वरूप लामखुट्टेको संख्या घट्छ र रोगको जोखिम घट्छ ।
यदि, लामखुट्टे छोड्ने यो प्रक्रिया निरन्तर गरिरहियो भने दीर्घकालमा जंगली लामखुट्टेको संख्या उल्लेखनीय रूपमा घट्नसक्ने वैज्ञानिकहरूको अपेक्षा छ । यति ठूलोस्तरमा यो प्रविधि पहिले कहिल्यै प्रयोग गरिएको थिएन । तर, अनुसन्धानकर्ताहरू यसको सफलतामा आशावादी छन् ।
हनिक्रिपरहरू सुन्दर मात्र होइनन्, तिनीहरूले हवाईको पारिस्थितिक सन्तुलनमा परागसेचन र बीउ फैलाउने कार्यमा समेत ठूलो भूमिका खेल्छन् । तिनीहरूको प्रजाति लोपले पहिल्यै तनावग्रस्त हवाईको इकोसिस्टममा असर पार्नेछ ।
डा. फार्मर भन्छन्, “लामखुट्टेहरूले लोपको लहर सुरु गरिरहेका छन् ।” यदि, यो समाधान सफल भएमा एक दिन हवाईका जंगलहरूमा अहिले लोपोन्मुख अवस्थामा पुगेका चराहरूको समुधुर आवाज पुनः गुन्जिन सक्नेछ । सीएनएन