काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षका कारण वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएको छ । कांग्रेस र एमालेबीचको सहमतिका आधारमा आगामी फागुनमा मात्र सरकार परिवर्तन हुनुपर्ने थियो ।
तर, कांग्रेसको आन्तरिक संघर्षमा इन्द्र बानियाँ समूहले बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएपछि बीचमै सरकार फेरबदल भएको हो ।
नयाँ सरकारमा एमालेका ६ र कांग्रेसका दुई सांसद मन्त्री बनेका छन् । १४ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा अब पाँच मन्त्री नियुक्त हुन बाँकी छ ।
लामाका मन्त्रिपरिषद्बाट पाँच मन्त्रीले राजीनामा दिँदै बानियाँलाई सघाएका थिए । तर, तिनीहरू पाँचैजना मन्त्री बन्न पाएनन् ।
बानियाँलाई संसदीय दलको नेतामा सघाउन तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने र ऊर्जा तथा सिँचाइमन्त्री श्यामकुमार खड्काले राजीनामा दिएका थिए ।
चार मन्त्रीले साउन ९ र खड्काले साउन १३ गते राजीनामा दिँदै बानियाँलाई संसदीय दलको नेतामा सघाएका थिए । उनीहरू पाँचैजना नयाँ मन्त्रिपरिषद्मा परेका छैनन् ।
‘कार्यभार सम्हालेसँगै सुरु भयो असन्तुष्टि’
बानियाँले मन्त्रिपरिषद् गठन गरेर कार्यभार सम्हालेकै दिन कांग्रेसमा भने आन्तरिक असन्तुष्टि सुरु भएको छ । नवगठित सरकारले सहमतिका आधारमा निर्णय गर्ने, मन्त्रिपरिषद् गठन पार्टीभित्रको शक्ति सन्तुलनका आधारमा गर्ने सहमति लामा र बानियाँबीच भएको थियो ।
मन्त्री नियुक्त गरी शपथ गराउन नपाएका तीनजनालाई नयाँ मन्त्रिपरिषद्मा राख्ने सहमति मुख्यमन्त्री बानियाँले पालना नगरेको र मन्त्री नियुक्तिमा सल्लाह पनि नगरेको भन्दै लामा पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।
वाग्मती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनेगरी शीर्ष नेताहरूको रोहवरमा भएको समझदारी पालना नभएको बताए ।
संसदीय दलको नेता निर्वाचित भइसकेपछि बानियाँ मुख्यमन्त्री बन्ने विषय स्वाभाविक मानिए पनि पार्टीमा भएको समझदारी उल्लंघनलाई सामान्य रूपमा लिन नसकिने उनले बताए ।
“प्रदेशको सभापति संसदीय दलको नेता निर्वाचित हुनुभयो । उहाँको आकांक्षा र नियुक्ति दुवैलाई स्वाभाविक रूपमा लिन सकिन्छ । तर, पार्टीका शीर्ष नेताहरूको रोहवरमा भएको समझदारी पालना नहुनुलाई सामान्य रूपमा लिन सकिँदैन,” काफ्लेले बाह्रखरीसँग भने, “उहाँले अर्को पक्षसँग सामान्य ‘कर्टेसी’ समेत नराखी मन्त्रीहरू नियुक्त गर्नुभयो । बाँकी मन्त्रीहरू कसरी नियुक्त हुन्छन् हेर्नुछ ।”
नयाँ मन्त्रिपरिषद्मा बानियाँसहित कांग्रेसका तीन र एमालेका ६ सदस्य छन् । विनाविभागीय मन्त्री शिवराज अधिकारी र खानेपानी, उर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ दुवै बानियाँ पक्षका हुन् ।
मन्त्रिपरिषद्मा पाँच मन्त्रीको पद रिक्त छ । लामाले अधिकारीलाई विभागीय जिम्मेवारी तोकेका छैनन् । आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैँसँग राखेका छन् ।
काफ्लेले पार्टीभित्रको समझदारी अनुरुप बानियाँ अघि नबढे पार्टीको विश्वास गुमाउने र भोलिका दिनमा अरु समस्या आउन सक्ने चेतावनी दिए ।
“अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन बाँकी छ । उहाँ समझदारीअनुरुप अघि बढ्न खोज्नु हुन्छ वा एकलौटी निर्णय गर्नुहुन्छ हेर्नुछ,” काफ्लेले भने, “यदि उहाँ आजकै शैलीमा अघि बढ्नुभयो भने उहाँका लागि सरकार सञ्चालन कठिन हुनसक्छ । जुन उहाँका लागि मात्र होइन पार्टीकै निम्ति दुर्भाग्यपूर्ण हुनेछ ।”
