site stats
बाह्रखरी :: Baahrakhari
कला
‘अभिमन्यु’को गीतमा दाजु र बहिनीको माया

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत सार्वजनिक भएको छ । ‘माली’ बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन रहेको छ । 

‘माली’मा दाजु र बहिनीबीतको निश्चल सम्बन्ध, दाजुले बहिनीलाई गर्ने मायालाई उतार्ने प्रयास गरिएको छ । बहिनीको हाँसोमा खुसी र त्यसैमा संसार देख्ने जिम्मेवार दाजुको कथा छ । 

रक्षाबन्धनलाई मध्यनजर गरेर गीत ल्याइएको निर्माणपक्षले जनाएको छ । गीत सार्वजनिक गर्दै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको पनि आह्वान गरेको छ ।

“हामीले यो गीतमा दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुहुन अनुरोध गर्छौं,” निर्माणपक्षले भनेको छ, “उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकमको पुरस्कार राखेको छौँ ।”

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदै छ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । 

‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता हुन् । 

मुकेश खनालको लेखन रहेको चलचित्रमा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता हुन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्