काठमाडौं । बंगलादेशमा शेख हसिनाको सरकार अपदस्थ भएको एक वर्ष (अगस्ट ५ मा) पूरा भएको छ । यो एक वर्षमा बंगलादेशको स्वरूप निकै बदलिएको छ । तानाशाही शासक आरोपमा शेख हसिनालाई सत्ताबाट हटाइएको थियो । उनलाई ज्यान जोगाउन भारतमा शरण लिन बाध्य पारिएको थियो ।
तर, एक वर्षपछि पनि बंगलादेशलाई गैरनिर्वाचित अन्तरिम सरकारले नै चलाइरहेको छ । यहाँ कट्टरपन्थी शक्तिहरू बलिया बनेका छन् र भीडद्वारा हत्या (मब लिन्चिङ)का घटनाहरू १२ गुणा बढेका छन् ।
हसिनाको महल संग्रहालय बन्दै
वर्तमान अन्तरिम सरकारले शेख हसिनाको पूर्वआधिकारिक निवास गणभवन, जो पहिले भारी सुरक्षायुक्त महल थियो, त्यसलाई संग्रहालयमा परिणत गर्दै छ ।
यसको उद्देश्य बंगलादेशका जनतालाई उनको कथित निरंकुश शासनको स्थायी सम्झना दिलाउनु हो । यो महल ब्रिटिस र पाकिस्तानी शासनकालमा एस्टेट राजबाडीको नामले चिनिन्थ्यो र दीर्घपतियाका महाराजाहरूको निवास थियो ।
हसिनाको नेतृत्वमा यो महल बंगलादेशका प्रधानमन्त्रीको आधिकारिक निवासको रूपमा प्रयोग हुँदै आएको थियो ।
छात्र आन्दोलनले ढालेको थियो हसिनाको सरकार
अगस्ट ५, २०२४ मा छात्र नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार ढलेको थियो । हसिना हेलिकोप्टरमार्फत भारत भागेपछि ढाकास्थित उनको महलको छतमा झण्डा फहराउँदै भिडको तस्बिर विश्वले देखेको थियो ।
तर, करिब १७ करोड जनसंख्या भएको यो देश एक वर्षपछि पनि अझै राजनीतिक उथलपुथलमा छ । यो विशाल महललाई संग्रहालयमा परिणत गर्नु भविष्यका लागि सन्देशमूलक हुनेछ भन्ने बंगलादेशी सरकारलाई आशा छ ।
हसिनाको शासनमा मानवअधिकार हनन
शेख हसिनाको शासनकालमा ठूलो मात्रामा मानवअधिकार हनन भएको थियो । उनले आफ्ना राजनीतिक विरोधीहरूलाई सामूहिक रूपमा जेल हालेर न्यायको दायराबाट टाढा राख्दै हत्या गरेको आरोप छ ।
संयुक्त राष्ट्रसंघका अनुसार, सत्तामा टिकिरहने उनको असफल प्रयासमा सन् २०२४ को जुलाई र अगस्तमा १४ सय मानिस मारिए ।
७७ वर्षीया शेख हसिनाविरुद्ध ढाकामा मानवताविरुद्धको अपराधको मुद्दा चलिरहेको छ । हसिनाले आफ्नो ज्यानलाई खतरा भएकाले अहिले बंगलादेश फर्कन नसक्ने र सबै आरोपहरू अस्वीकार गरेको बताएकी छन् ।
महललाई संग्रहालयमा किन परिणत गरिँदै छ ?
८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनूसले अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन् । उनले सन् २०२६ को सुरुमा निर्वाचन गराउने वाचा गरेका छन् ।

उनले भने, “शेख हसिनाको महललाई संग्रहालयमा परिणत गर्नु उनको कुशासन र उनलाई सत्ताबाट हटाउने जनताको आक्रोशको सम्झनालाई संरक्षण गर्नेछ ।”
एएफपीको रिपोर्टअनुसार, २७ वर्षीय मानवअधिकार कार्यकर्ता तथा डकुमेन्ट्री फोटोग्राफर मोस्फिकुर रहमान जोहान उनै हजारौँमध्ये एक थिए, जसले अपदस्थपछि हसिनाको आलिशान महलमा धावा बोलेका थिए । भीड महलभित्र पसेर हसिनाको सयनकक्षमा नाच्दै, भान्साबाट खाना निकालेर भोज खाँदै र उनले माछा मार्ने तालमा पौडी खेल्दै थिए ।
रहमानले भने, “यो संग्रहालयले विगतको आघात, पीडा र जनताको प्रतिरोधको कल्पनालाई मूर्त रूप दिनेछ । गणभवन फासीवाद र निरंकुश शासनको प्रतीक हो ।”
संग्रहालयमा के–के हुनेछ ?
यो महल हसिनाका पिता तथा बंगलादेशका प्रथम नेता शेख मुजिबुर रहमानले बनाएका थिए । हसिनाले आफ्नो १५ वर्षे शासनकालमा यसलाई आधिकारिक निवास बनाएकी थिइन् ।
संग्रहालयका क्युरेटर तन्जिम वहाबले एएफपीलाई बताएअनुसार, संग्रहालयमा आन्दोलनमा मारिएका व्यक्तिहरूको कलाकृति, उनीहरूको जीवनको कथा फिल्म र तस्बिरमार्फत प्रस्तुत गरिनेछ ।
हसिनाको शासनकालमा सुरक्षाकर्मीले मारेका व्यक्तिहरूको नाम पट्टिकामा राखिनेछ । वहाबले भने, संग्रहालयमा एनिमेसन, अन्तरक्रियात्मक प्रदर्शनी र हसिनाका विरोधीहरूलाई दम घुट्ने अवस्थामा राखिएको साना कारागारहरूको दस्तावेजीकरण पनि समावेश हुनेछ ।
उनले थपे, “हामी के चाहन्छौँ भने युवाहरूले यसलाई लोकतान्त्रिक विचार, नयाँ सोच र नयाँ बंगलादेश निर्माणको छलफलको मञ्चको रूपमा प्रयोग गरून् ।”
हसिनाको हर निसान मेटियो
हसिनाको महललाई संग्रहालयको रूपमा संरक्षित गरिँदै छ, प्रदर्शनकारीहरूले उनको शासनका अन्य प्रतीकहरू भत्काएका छन् ।
हसिनाका पिताको मूर्तिहरू ढालिए, उनीहरू दुवैका तस्बिरहरू च्यातिए र आगो लगाइयो । हसिनाले आफ्ना पिताको घरलाई संग्रहालय बनाएकी थिइन् । प्रदर्शनकारीहरूले शेख मुजिबुर रहमानको घरलाई बुलडोजरले भत्काए ।
घर भत्काउने भीडमा संलग्न २३ वर्षीय छात्र मुहिबुल्लाह अल मश्नुनले भने, “जब तानाशाही ढल्छ, त्यसको मक्का पनि जान्छ ।” उनको के विश्वास छ भने बंगलादेशलाई राम्रो भविष्यतर्फ अघि बढाउन यस्ता प्रतीकहरू हटाउन आवश्यक छ ।
बंगलादेशमा कति लोकतन्त्र आयो ?
शेख हसिनामाथि तानाशाहीको आरोप लगाएर अपदस्थ गरिएको थियो । बंगलादेशका जनताले उनको पतनपछि लोकतन्त्र बलियो हुने सपना देखेका थिए, तर एक वर्षपछि वास्तविकता त्यसबाट धेरै टाढा छ ।
अन्तरिम नेता युनूसले निर्वाचनअघि लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन चाहेका छन्, तर राजनीतिक दलहरूको सत्ताको होडले यो प्रयास सुस्त भएको छ ।
आन्दोलनको पहिलो वार्षिकोत्सवअघि ह्युमन राइट्स वाचले चेतावनी दिएको छ कि उनीहरूका सामु ठूलो चुनौती छ । ह्युमन राइट्स वाचले भनेको छ, “अन्तरिम सरकार सुधारविहीन सुरक्षा क्षेत्र, कहिलेकाहीँ हिंस्रक धार्मिक कट्टरपन्थीहरू र राजनीतिक समूहहरूसँग फसेको देखिन्छ, जसले बंगलादेशीहरूको अधिकार संरक्षण गर्नुभन्दा हसिनाका समर्थकहरूमाथि प्रतिशोध लिनमा बढी ध्यान केन्द्रित गरेका छन् ।”