काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग पार्टी एकता गर्ने निर्णय गरेपछि वामवृत्तमा चासो बढेको छ ।
त्यसो त, यसअघि पनि एकताका चर्चा चले । माओवादीले औपचारिक निर्णय गरेको थिएन । स्थायी समितिको बैठकबाटै एकताको निर्णय लिएको माओवादी महासचिव देवप्रसाद गुरुङले बताए ।
“हामी पदाधिकारीबीचमा छलफल हुँदै आएकै विषय हो,” महासचिव गुरुङले बाह्रखरीसँग भने, “तर, यसपटक स्थायी समिति बैठकबाटै एकता गर्ने निर्णय भएको छ ।” तर, उक्त निर्णयप्रति विप्लव समूह पूर्णतः जानकार नरहेको भन्दै माओवादी नेतृत्वको उद्देश्य र आशयसँग शंका गर्दै छ ।
माओवादीको सशस्त्र युद्धमा कमाण्ड सम्हालेका विप्लवले मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा ‘बादल’ सँगै माओवादीबाट अलग भएका थिए ।
बादल र वैद्यसँग अलग भएर अर्धभूमिगत, भूमिगत हुँदै मूलधारकै राजनीतिमा फर्किएका विप्लव पनि आफ्नो समूह प्रभावकारी रूपमा चलाउन सक्षम देखिएपछि एकताको निर्णय गरेको हो ।
महासचिव गुरुङले भने, “विप्लव समूह वैचारिक हिसाबले माओवादी धारमै छन्, त्यहीकारण उहाँहरूसँग एकता गर्ने हाम्रो नीति हो ।”
उनी माओवादीले एकता गर्ने निर्णय गरेको हुँदा उताको प्रतिक्रिया प्रतीक्षामा रहेको बताउँछन् । उनले थपे, “यो हाम्रो निर्णय हो, अब उहाँहरूले निर्णय गरेपछि एकता प्रक्रिया अगाडि बढ्छ ।”
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ‘सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी बनाउन तयार होलान् भन्नेमा अविश्वास प्रकट गर्दै माअोवादी केन्द्रको निर्णयको रणनीतिक उद्देश्य खोजी गर्नुपर्ने बताउँछन् ।
“क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन प्रचण्डजी कति तयार हुनुहुन्छ, माओवादी कति तयार हुन्छ, मुख्य कुरा त्यो हो,” ‘प्रकाण्ड’ले बाह्रखरीसँग भने, “अर्को कुरा एकताको कुरा गर्ने भनेको देशका समस्याहरूबाट बाहिर निकाल्ने क्रन्तिकारी पार्टी बनाउन हो ।’’
‘‘साम्राज्यवादी षडयन्त्रमा फँसेको स्वाधीनतालाई निकाल्न प्रचण्ड कति तयार हुनुहुन्छ ?’’ प्रश्नसहित उनी भन्छन्, ‘‘एकता हुने या नहुने त्यसैले निर्धारण गर्छ ।”
उनले गणतन्त्रको रक्षा गर्दै बाँकी प्रणालीगत सुधारका निम्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार हुनेमा पनि शंका व्यक्त गरे । उनी भन्छन्, ‘‘मोर्चा र सहकार्य अलग विषय हुन्, एक वर्षदेखि समाजवादी मोर्चामा सहकार्य भएको छ । तर, सहकार्यले मात्र एकता हुँदैन ।’’
यसरी भएका थिए अलग
माओवादी सशस्त्र युद्ध देशभर फैलिँदा कर्णाली क्षेत्रमा प्रभाव विस्तार हुन सकेको थिएन । कर्णालीको कमाण्डर भएपछि त्यहाँ माओवादी युद्धको प्रभाव विस्तार गरेपछि विप्लवको वजन बढेको थियो ।
सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्डलाई प्रश्न गर्ने धेरै नेताहरू माओवादीमा थिए । विप्लवले प्रश्न उठाउँदा प्रचण्ड भावुक हुने र उनलाई विश्वासमा राख्न विशेष सम्बोधन गर्ने गरेका थिए । तर, सत्ता राजनीतिसँग जोडिएपछि प्रचण्ड विप्लवसहितका नेताहरूलाई साथमा राख्न असफल भएका थिए ।
पहिलो संविधानसभाले संविधान दिन नसकी विघटन भएपछि माओवादीले संसदीय राजनीति छाडेर अघि बढ्नुपर्ने लाइन देखापर्यो । त्यो पक्षले प्रचण्डलाई ‘लेण्डुप’ बनेको आरोप लगाउँदै अलग हुने निर्णय लिएको थियो ।
प्रचण्डले माओवादी सशस्त्र संघर्षलाई ‘संसद्वादी भास’मा मिलाएको र राष्ट्रवादी अडानमा पनि इमान्दार नरहेको आरोप उनीहरूको थियो । यिनै मुख्यकारण देखाउँदै मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह पनि क्षतविच्छेद भयो ।
मोहन वैद्य किरण ‘क्रान्तिकारी माओवादी’ नाम राख्दै सीपी गजुरेलसहितको सानो समूहको नेतृत्वमा सीमित भए । उमेर र स्वास्थ्यका कारण उपचार र आराममा बस्नुपर्दा सीपी गजुरेललाई कार्यवाहक महासचिव तोकेका छन् ।
वैद्यसँग क्रान्तिकारी लाइन लिँदै सशस्त्र संघर्षको मुद्दा अघि सारेर पार्टीलाई त्यो बाटोमा हिँडाउन नसकेका विप्लव एउटा समूह लिएर अलग भए ।
उनले अर्धभूमिगत, भूमिगत हुँदै एमाले र माओवादीको संयुक्त सरकार चलेकै समयमा ०७८ सालमा तत्कालीन ओलीसँग तीनबुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको घोषणा गरे । तर, उनी मूलधारको राजनीतिमा फर्किएको यतिका समय निर्वाचनमा भाग लिएका छैनन् ।
