काठमाडौं । एक साँझ छिरिङ पाल्जोम लामा साथीहरूसँगै मेलामा थिइन् । केही केटाहरूले मेलामा उनलाई सोधे, ‘के खान्छौ ?’
त्यो पनि एकपटक होइन, पटकपटक । सँगै भएका युवतीहरू हिँडिसके । तर, पाल्जोमलाई अझै के खाने...?, यो खाऊ..., त्यो खाऊ... भनेर अल्मल्याइरहेका थिए ।
अचानक कसैले पछाडिबाट उनलाई समायो । र, टाउकामा केही दल्यो । पछ्यौराले छोप्यो ।
पाल्जोम अत्तालिइन् । उनी कराइन्, ‘के गरेको ?’
एक जनाले भने, ‘तिमीलाई ...को ‘ह्यार’ लाग्यो ।’
‘ह्यार’ भनेको टाउकामा घिउ दल्ने काम हो । यसलाई हालको समयानुसार बुझ्दा ‘इन्गेजमेन्ट’ हो ।
२३ वर्षकी पाल्जोमले भाग्न खोजिन् । प्रतिवाद गरिन् । पाँचजना पुरुष भएको ठाउँमा एक्ली पाल्जोम आफ्नो उद्देश्यमा सफल हुन सकिनन् ।
गाउँलेले थाहा पाउने डरले राति नै उनलाई एउटा घरको अन्डरग्राउन्डको अँध्यारो कोठामा लगेर थुनियो । पाल्जोमलाई भित्र थुनेर बाहिरबाट ताला लगाइयो ।
त्यहीँ खान दिने, त्यही रात बिताउन लगाउने । शौचालय जाँदा पनि उनलाई एक्लै छाडिएन । १७ दिन बित्यो । उनलाई दिनरात टर्चर दिइयो । अनौठो त यो थियो, पाल्जोमलाई खोज्न न उनका बुबा आए, न आमा नै । दाजुभाइले पनि वास्ता गरेनन् ।
किनकि उनीहरूलाई लागेको थियो– चलेको चलन, कसैले घिसारेर लाग्यो होला ।
आफ्नै बुबा–आमा खोज्न आएनन् । १७ दिनसम्म अँध्यारो कोठामा उनलाई ‘मसँग बिहे गर’ होइन भने ‘म मर्छु’ भनेर ‘टर्चर’ दिए ।
“चक्कुले हान्नुमात्रै टर्चर होइन नि, मसँग बिहे गरिनस् भने मरिदिन्छु भन्नु पनि त टर्चर हो,” पाल्जोम भन्छिन्, “भित्तामा टाउको ठोकेर रगतैरगत पारेको थियो ।”
घरबाट वास्ता नगरेपछि र दिनरातको दबाबपछि अन्ततः पाल्जोम गलिन् । जसले ‘ह्यार’ लगाएको हो, उसैसँग विवाह गरिन् । उनीसँग सानो बच्चा छ । पाल्जोमलाई ‘ह्यार’को आफ्नो कथा आफ्नो बच्चालाई सुनाउने ठूलो धोको छ । अपहरण गरी दुलही बनाउने कथा सुनाउनु छ ।
पाल्जोम एक्लो महिला होइनन्, जसलाई अपहरण गरेर बन्धक बनाएर बेहुली बनाइयो । यो त उनीहरूको संस्कृति हो ।
उनका हजुरआमा र आमाहरू पनि अपहरणमा परेर नै बेहुली बने । बेहुलो मन परोस् वा नपरोस्, राम्रो लागोस् वा नलागोस्, चित्त बुझोस् वा नबुझोस् । जबरजस्ती श्रीमान् स्वीकारेर आए । पाल्जोमले पनि त्यही गरिन्, जुन चलिआएको 'संस्कार' हो ।
तर, उनलाई यो त्यति धेरै मन परेको छैन । त्यसैले उनी डकुमेन्ट्री ‘होम इज नट अ प्लेस : अ योङ वुमेन ट्रेसेस हर कम्युनिटी’ज हिस्ट्री अफ ब्राइड किडन्यापिङ’मा बोलिन् ।
मनाङमा मात्रै होइन, पूर्वी नेपालको केही जिल्लाका लिम्बू समुदायमा पनि यो संस्कृति छ । कतै छोप्ने, कतै चोर्ने, कतै घिसार्ने, कतै तान्ने भन्ने गरेको पाइन्छ ।
पछिल्लो समय यसरी विवाह गर्ने चलन विस्तारै घट्दै गएको छ । मनाङमै पाल्जोमको पछि कसैले जबरजस्ती ‘ह्यार’ लगाएको सुनिएको छैन । तर, आजपर्यन्त यो चलन कायमै छ ।
स्थानीय समुदायमा अब अपहरण गरेर विवाह गर्न पाइँदैन भनिएको छैन । कानुनले पनि दुवै पक्ष (केटाकेटी)को राजीखुसी नभएसम्म विवाह गर्न पाइँदैन भनेको छ ।
यो सहनशील महिलाहरूका कारण अभ्यासमा आएको चलन हो । पुरुषले आफूलाई मन लागेको युवतीलाई अपहरण गरेर विवाह गर्ने र महिलाले स्वीकार गर्ने चलन हो ।
‘होम इज नट अ प्लेस’, अपहरण गरेर विवाह गर्ने चलन रहेको समुदायको संस्कृति बुझाउने डकुमेन्ट्री हो । यसले समयसँगै कतिपय संस्कृतिलाई पूर्णविराम दिनुपर्ने वा त्यसलाई परिमार्जन गर्दै लैजान आवश्यक रहेकोतर्फ संकेत गरेको छ ।
निर्देशक लाक्पा चोएदोन लामाले डकुमेन्ट्रीमार्फत संस्कृतिका नाममा महिलाको अधिकार हनन् गर्ने ‘कल्चर’माथि प्रश्न उठाएकी छन् । मनाङको सुन्दर भूगोल, लामा संस्कृति देखाउँदै निर्देशक पितृसत्तात्मक सोचमा बदलाव चाहिने बताउँछन् ।
मनाङका सुन्दर गाउँ र स्थानीय, अनुशासित बौद्ध धर्म र स्थानीय जनजीवन देखाएका छन् । भूगोल जति सुन्दर छ, संस्कारका नाममा पिल्सिएर बसेका महिलाहरूको कथा त्यति नै कुरूप छ । त्यसैले निर्देशकले ‘होम इज नट अ प्लेस’मार्फत सम्बन्धित समुदायलाई समयअनुसार परिस्कृत हुँदै अगाडि बढ्न सन्देश दिने प्रयास गरेका छन् ।
संस्कार र संस्कृतिले मुख थुनेपछि चुपचाप बसेका महिलाको रोइरहेको मनलाई ‘होम इज नट अ प्लेस’ले उजागर गरिदिएको छ । सेतो हिमालको काखमा रहेको सुन्दर गाउँको कथा देखाउँदै ‘होम इज नट अ प्लेस’ले महिलाले पनि राजीखुसी जीवन जिउन पाउनुपर्ने प्रत्यक्ष/अप्रत्यक्ष वकालत गरेको छ ।
डकुमेन्ट्री हेर्न